लिम्बु जातिको मौलिकतामाथि यसरी हुँदैछ सत्यहाङमाको अतिक्रमण

 

  • अर्जुनबाबु माबुहाङ

मेन्छ्यायेम (तरुणी) उभिएको देखिने डाँडाको परिचय लिम्बू जातिको मुन्धुममा उल्लेखित ‘मेन्छ्यायेम’को चर्चाबेगर न सुरु हुन्छ, न टुंगिन्छ । लिम्बू जातिका देवारी, फेदाङमा, साम्बा, येबा/येमाहरूले ‘मेन्छ्यायेम थेगु/कोक्मा’ भनेर बारम्बार फलाकिरहन्छन् ।

लिम्बु तरुणहरूको चोSलुङ । अथवा शीर । मनकामना पूरा हुने पवित्र ठाउँ हो- मेन्छ्यायेम डाँडो ।

मेन्छ्यायेम डाँडाबाट पूर्वी नेपालका १८ जिल्लाहरु मज्जाले देख्न सकिन्छ । बाह्रै महिना कुम्भकर्ण र मकालुसम्मको दृश्य हेर्ने ठाउँ पनि यही हो ।

ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका, सङ्खुवासभाको चयनपुर नगरपालिका र तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले छोएको छ मेन्छ्यायेम डाँडालाई ।

फक्ताङलुङ (कुम्भकर्ण) लाई काँध हालेर, अस्ताउँदो घाम शीरमा राखेर मेन्छ्यायेमको छायाँ गुफापोखरीमा अझैसम्म त देखिँदैछ । पोखरी भने सुक्नै लाग्यो ।

जहाँ-जहाँ लिम्बूको मुन्धुम जोडिन्छ, त्यहाँ-त्यहाँ सत्यहाङ्माहरूले त्रिशुल र डम्बरुअंकित झण्डा गाडिसकेका छन्

मेन्छ्यायेम डाँडाबाट पूर्वी नेपालका १८ जिल्लाहरु मज्जाले देख्न सकिन्छ । बाह्रै महिना कुम्भकर्ण र मकालुसम्मको दृश्य हेर्ने ठाउँ पनि यही हो ।

मेन्छ्यायेम डाँडामा होम यज्ञादि गर्नका लागि सिमेन्ट, रड, ईंटा, ध्वजापाताका संरचनासहितका कुटीहरु बन्दैछन् । मेन्छ्यायेमको मौलिकपना विरुप बन्दैछ । अहिले जहाँ संरचना बन्दैछ, त्यो नै मेन्छ्यायेमको मुख्य प्वाइन्ट हो ।

अहिले पूर्वी पहाडका जुन-जुन ठाउँमा सत्यहाङमाहरूले कुटी बनाएका छन्, त्यहाँका प्राचीन स्थानीय नामहरु लोप भएका छन् र माङहिम एवं कुटीको नाम मात्रै सुन्न थालिएको छ । अब मेन्छ्यायेमको पनि यही हालत हुने निश्चित छ ।

मेन्छ्यायेमको मिथक

मुलुकमा गणतन्त्र आयो । पहिचानको कुरा उठ्यो । तेह्रथुम जिल्लाका ६ वटा स्थानीय निकायमध्ये मोराहाङ, श्रजिुङ र पौंठाक गाविसलाई गाभेर मेन्छ्यायेम गाउँपालिका बनाइयो । मेन्छ्यायेमको नाम कुनै पहिचानवादी पार्टीले उठाएको थिएन । स्वतःस्फूर्त त्यहाँको स्थानीयको माग थियो- गाउँपालिकाको नाम “मेन्छ्यायेम” हुनुपर्छ । र, भयो पनि ।

अर्जुनबाबु माबुहाङ

अदौमा लिम्बूजातिकी माता (पितृ) युमाले आफ्ना सन्ततीहरूलाई बिउ-बिजन खोज्न, उमार्न सिकाउँदै हिँडिन् । तान बनेर कपडा बुन्न सिकाउँदै हिँडिन्, तानकै भारीसँग । कालान्तरमा उनी साँगु-पाङमाका थोक्लुङ थरकी युवतीको आङमा प्रवेश गरिन् ।

युमा प्रवेश गरेपछि ती युवती गाउँघरमा पटक-पटक हराउन थालिन् । एक दिन गाउँलेले उनलाई मेन्छ्यायेम डाँडामा उभिएको भेटे । उबेलादेखि यस डाँडोलाई मेन्छ्यायेम भनियो ।

पूर्वकुलपति, नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व, मुन्धुमविद बैरागी काइँलाले त ग्रिसको ओलम्पस पर्वतसँंग दाँजेका छन् मेन्छ्यायेम डाँडालाई । मेन्छ्यायेमका मेन्छ्याहरूलाई ट्रोजनवारकी लिजेन्ड्रिक सुन्दरी हेलेनसँगै पनि किन नदाँज्ने ?

मेन्छ्यायेमका कतिपय मिथककारहरु सकिसके । गुफादेखि गोर्जा-भुजे-देउराली-दोभान हिँड्ने ढाक्रेहरूले सुके भन्ने ठाउँनेर ढाकर बिसाएर मेन्छ्यायेम डाँडातिर तरुणी उभिएको हेर्थे । लोकोक्ति अनुसार घाम झुल्कनेबेला र अस्ताउनेबेला मेन्छ्यायेममा मेन्छ्या (तरुणी) देखिन्थिन् ।

चितवनमा गैंडालाई र बर्दियामा बाघलाई प्राथमिकता दिएजस्तै तीनजुरे-मिल्के-जलजले (टीएमजे) मा पनि गुराँसलाई सरकारले प्राथमिकतामा राखेको । टीएमजेको मुख्य प्वाइन्टचाँहि मेन्छेयायेम नै हो ।

मेन्छ्यायेमधाप वरिपरि गुराँसका मात्रै बोट देखिन्छन् । गुराँसविद कमल मादेनका अनुसार मेनछ्यायेम धाप वरिपरि मात्रै ७ थरीका गुराँसका प्रजाति भेटिन्छन् । फाल्गुनदेखि जेष्ठसम्म राताम्मे, सेताम्यै गुराँस हेर्न टाढा-टाढाबाट पर्यटकहरू आउँछन् ।

प्रदेश सरकारले यो साल १५ लाख रुपैयाँ डीपीआर तयार गर्न यहाँ लगानी गरेको छ । पर्यटकहरू गुराँस र हिमाल हेर्न आउने हुन् कि खरानी घसेका मानिस हेर्न ? यो प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ ।

मौलिकतामाथि सत्यहाङमाको अतिक्रमण

जान अञ्जान के हो, यत्रो लिम्बूजातिको सभ्यता नष्ट गर्न सत्यहाङमाहरू वर्षौंदेखि लागिरहेका छन् । तमोरखोला मापाङ्भेको खाम्बुच्चङ तमोरखोलाका प्रायः सबैथरी लिम्बूहरूको शीर हो । त्यहाँ पनि सत्यहाङमाहरूले माङहिम बनाएर ध्वजापाता गाडेकै छन् ।

तमोरखोलाकै इखाबुको थोक्चङ तेम्बे, जहाँ लिम्बू जातिको पहिलो पूर्खा मुजिङना खेयङनाका सुपुत्र सुसुवेङलालावेङको मृत्यु भएको थियो । उनले लिम्बू जातिलाई शिकार खेल्न सिकाएका थिए । त्यहाँ पनि सत्यहाङमाहरूले झण्डा गाडेकै छन् । पाँचथरको सुSलुम्भीको शीर सेहोनाम्लाङ, जहाँबाट लिम्बूजातिको नुन र कपडाको व्यापार सुरु भएको मुन्धुम उठ्छ, त्यहाँ पनि सत्यहाङमाहरूले ध्वजा पतका गाडेकै छन् ।

मेरो अध्ययनमा लिम्बूजातिको उत्पत्तिस्थल तमोरखोलाको मुरिङला खारिङला डाँडोबाहेक जहाँ-जहाँ लिम्बूको मुन्धुम जोडिन्छ, त्यहाँ-त्यहाँ सत्यहाङ्माहरूले त्रिशुल र डम्बरुअंकित झण्डा गाडिसकेका छन् ।

भूमिपुत्र, आदिवासी वा लुङबोङबा खाम्बोङबाहरूको मौलिकता र सौन्दर्यता भनेको खोलानाला, वनजंगल, पाहाड र हिमाल हो ।

स्मरण रहोस्, सन् १९८६ मा अलास्का राज्यमा रहेको एक आदिवासी पहाडलाई त्यहाँका कोलोनिस्टहरूले माउन्ट मेकन्ली बनाएका थिए । १२० वर्षपछि फेरि उक्त पहाडको नाम आदिवासी रेडइन्डियनहरूको ज्ञान, सभ्यता र सौन्दर्यता नष्ट गर्नबाट रोक्न पहिलेकै आदिवासीका नाममा ‘माउन्ट डेनाली’ भनेर सच्याइयो ।

लिम्बू जातिको आस्था, विश्वासको हत्या गर्दै हिँड्ने सत्यहाङमा को हुन् त ? सत्यहाङमाहरू भनेको माहागुरु फाल्गुनन्दका चेलाहरू हुन् । जसले जोसमनि पन्थ अंगालेका छन् । जोसमनी पन्थ हिन्दू धर्मको एक सम्प्रदाय हो । जोसमनी पन्थका प्रवर्तक हुन्- धिर्जेदिलदास । अर्थात, शशिधरका गुरु ।

शशिधरलाई गोर्खा दरबारले साम्प्रदायिक कठोर हिन्दू वर्णाश्रम व्यवस्थाका हर्ताकर्ता ब्राम्हणहरूविरुद्ध उकासेको थियो । शशिधरका चेला हुन् प्रेमदिलदास । उनैले पूर्वका राई लिम्बूलाई जोसमनी पन्थको अनुयायी बनाएका थिए । शशिधरकै चेला मधुनन्दबाट फलामसिंह लिङदेन दीक्षित भई फाल्गुनन्द बनेका थिए ।

आय आर्जन, मदमंश, विवाह गर्नु जोसमनी पन्थीहरूलाई निषेध थियो । फाल्गुनन्द साधु भएर केही आफ्ना चेलाका साथ उनी लिम्बू गाउँघर डुल्थे । निधारमा विघौद, कम्मरमुनि सेतो मेख्ला लगाएर हिँड्थे । हातमा चिम्टा बोकेर आँगनमा होम यज्ञादि गर्दै, चरु पोल्दै हिँडथे । सत्य आहार, विहार, कर्म गर्नुपर्छ, सत्य बोल्नुपर्छ भन्ने, आफूलाई युमा माहारानी हुँ, भन्ने उनै एक लिम्बू जोगी त्यसपछि सत्यहाङमा नामले चिनिए ।

उतिबेला लिम्बूका संस्कार, संस्कृति खर्चालु थियो । शसुरालीलाई सुनौली (सुन) र रुपौली (रुपैँया) बुझाउने, विवाह, बर्खीमा ठूलठूला चारखुट्टे चौपाया काट्ने, जाँडरक्सीको खोलो बगाउने चलन थियो । खर्चालु संस्कार सम्पन्न गर्न लिम्बूहरू ऋण काढ्न आफ्ना बाहुन, क्षेत्रीकहाँ पुग्थे । बाहुन, क्षेत्रीहरूले लिम्बूका पाखो, खेतहरू भोग बन्धकी र मासिकट्टामा लिन्थे ।

लिम्बूहरूले विवाह, बर्खी संस्कारैपिच्छे बढ (थप) ऋण लिन्थे । यस्तो अवस्थामा घरबारविहीन भएर बसाइँ हिँडेका लिम्बूहरूको जमात बढ्दै गयो । लिम्बूहरुको सामाजिक जनजीवनको यही पीडादायी एवं दर्दनाक अवस्थालाई सम्हाल्न फाल्गुनन्दले थुमथुमका लिम्बू, सुब्बाहरू बोलाएर वि.सं १९८८ वैशाख २४ गते पाँचथरको चोक्मागुको लोब्रेकुटीमा सत्य धर्म मुचुल्का गराए ।

मुचुल्कामा छोरीचेलीको सोत खान नहुने, संस्कृति, संस्कार, अनुष्ठानमा मदमंसको प्रयोग गर्न नहुने मुख्य बुँदाहरू थिए । यो मुचुल्काले विशेष गरी विपन्न लिम्बुहरूको जीवनमा ठूलो परिवर्तन ल्यायो । उनको यो सामाजिक योगदानलाई मानेर राज्यले फाल्गुनन्दलाई १६ औं राष्ट्रिय विभूति घोषणा गरेको छ ।

फाल्गुनन्दको महान सामाजिक सुधारको जगमा उभिएर किरात धर्मका नाममा लिम्बूजातिको परम्परागत संस्कृति संस्कार सिद्ध्याउन आज सत्यहाङमाहरू लागिपरेका छन् । लिम्बूजातिका आस्थामा विचलन ल्याइरहेका छन् । लिम्बूजातिका कुल देवता युमा, थेवा र हिन्दू देवीदेवता एउटै हुन् भनेर प्रचारमा छन् ।

शिव बस्छन् कैलाशमा । शिवले बोक्छन त्रिशुल । बजाउँछन् डम्मरु । युमा छिन् फक्ताङलुङमा । बोक्छिन् थुन्से, बुन्छिन् तान । शिव खान्छन् भाङ धतुरो । नाच्छन् नटराज । युमा सेगेफुङ (बाहुनीबर ?) सिउरेर हिँड्छिन् । थुन्से बोकेर बिउ-बिजन खोज्दै हिँड्छिन् । आफ्ना सन्ततीलाई तान बन्न सिकाउँदै हिँड्छिन् ।

शिव कैलाश पर्वत परिक्रमा गर्छन् । युमा घुम्छिन फक्ताङलुङ/कुम्भकर्णदेखि वैSलाशो फुSलाशो वरक/पोखरी । त्यहाँदेखि इम्बिरी याङथाङवा /तमोरखोला पछ्याउँदै संसाबुको किङकिङलुङमा आएर नाच्छिन् । आफ्ना सन्ततीहरूलाई खबरदारी गर्छिन् । त्यहाँबाट मापाङफेमा पुगेर नियारा यक्चेयकमा तान बिसाउँछिन् । लिङखिमको थाक्सिबोमामा पुगेर तान लगाउँछिन । फुरुम्बुको ताङगेलुङमा तान ठोकाउँछिन् । पाँचथरको सिवा दोभानमा पुगेर बल्छी खेल्दै चैजिते खल्बलेसँग धान नाच्छिन् । यसरी नै घुम्छिन् । धनकुटा चौबीसको थाक्केलुङमा पुगेर तान लगाउँछिन् । फेदापको सिम्लेमा पुगेर थाक्चोकेमा पुग्छिन् ।

मेन्छ्यायेम डाँडोमा पर्यटकहरु मेन्छ्यायेम र यहाँबाट देखिने फक्ताङलुङको दृश्य हेर्न आउने हुन् कि खरानी धसेका लिम्बुहरु हेर्न आउने हुन् ?

तैपनि, सत्यहाङमाहरू भन्छन्- युमा, थेबा र शिव, पार्वती एउटै हुन् । सत्यहाङमाहरूको चर्तिकला देखेर बाहुनहरू नै भन्छन्, ‘यो कलीमा लिम्बूले होम यज्ञादि गर्न सिकाउन थाले । दोभानमा लाग्ने पुषे मेला, आठराईमा मदन मेला सात/सात दिनसम्म लिम्बूको धान नाच र पालामले धान्थ्यो । लिम्बुको त्यो संस्कृति माओवादीको द्वन्द्वले मात्र खाएको होइन रहेछ, लिम्बूलाई जोगी बनाउने अभियानले पो रहेछ ।’

कसैको आस्था, विश्वासमाथि खेलवाड गर्न पाइँदैन

नेपालको संविधानले मौलिकताको रक्षा गरेको छ । धर्म निरपेक्षताका नाममा कसैका आस्था, विश्वासमाथि खेलबाड गर्न पाइँदैन । हिन्दू धर्मको एक सम्प्रदाय भएर हिन्दू संस्कारलाई यही नै लिम्बूको परम्परा, संस्कार, धर्म पनि हो भन्ने लारुम्बे लिम्बूहरूलाई कारवाही नथाल्ने हो भने यो सरकारले संविधानको रक्षा कसरी गर्न सक्छ ? अरुको विश्वास र मौलिकतामाथि विचलन ल्याउनेलाई राज्यले कडा कार्वाही गर्नुपर्छ ।

सत्यहाङमाहरूले सुदुरपूर्वकै सभ्यता नष्ट गरिरहँदा स्थानीय सरकारका प्रमुख, जो लिम्बूहरू मात्र छन्, सत्यहाङमाका भोट बिगि्रने डरले बोल्न सकेका छैनन् । याक्थुङ चुम्लुङ सत्यहाङमाहरूले अतिथि नबोलाउलान् भनेर गुमनाम छन् । लिम्बू बुद्घजिीवीहरू पनि फेसबुके जोगिपुरे लिम्बूहरूको आलोचनामा परिन्छ कि भनेर चुम्लुङकै लाइनमा छन् ।

प्रदेश सरकारले यो साल १५ लाख रुपैयाँ डीपीआर तयार गर्न यहाँ लगानी गरेको छ । पर्यटकहरू गुराँस र हिमाल हेर्न आउने हुन् कि खरानी घसेका मानिस हेर्न ? यो प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ ।

केही वर्षअगाडि बाहुन/क्षेत्रीहरूलाई पनि लाग्थ्यो कि लिम्बूहरूले बाहुनको संस्कारको सिको गर्दा लिम्बूमाथि राजनीति गर्न सजिलो हुन्छ । अब भने त्यो मान्यता संघीयताले खाइदियो । संघीयताले आ-आफ्ना सरकारको आर्थिक स्थितिलाई कसरी मजबुत बनाउने भन्ने प्रतिस्पर्धा सुरु गरायो । यस्तो अवस्थामा जसको जे बिक्छ, त्यही बेच्नुपर्ने भयो । त्यसमा पनि संस्कृति र भूगोल । काठमाडौं उपत्यकामा नेवारहरूकै भोटो बिक्ने हो । पूर्वमा राईलिम्बूको सांस्कृतिक सम्पदा बिक्छ भने त्यही बेच्ने हो ।

अन्त्यमा, मेन्छ्यायेम डाँडोमा पर्यटकहरु मेन्छ्यायेम र यहाँबाट देखिने फक्ताङलुङको दृश्य हेर्न आउने हुन् कि खरानी धसेका लिम्बुहरु हेर्न आउने हुन् ? तेह्रथुम, संखुवासभा र ताप्लेजुङबासीहरुले विचार चोगे !

 (मुन्धुमविद अर्जनबाबु माबुहाङ तेह्रथुम जिल्लास्थित लालीगुराँस नगरपालिकाका मेयर हुन्)

साभार – अनलाइन खबरबाट ।

तपाईको प्रतिक्रिया