पाँचथर । गएको फागुन पहिलो हप्तादेखि नै सुरु गरिने भनिएको पहिलो चरणको राष्ट्रिय परिचय पत्र वितरणको विवरण संकलन आउँदो जेठ २५ देखि संकलन गरिने भएको छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराम जोशीका अनुसार पहिलो चरणमा एक लाख १७ हजार परिचय पत्र वितरण गर्ने तयारी छ । जसमध्ये पाँचथर जिल्लामा १ लाख १० हजार परिचय पत्र वितरण गरिनेछ भने बाँकी ७ हजार सिंहदरबारका कर्मचारीलाई वितरण गरिनेछ । परिचय पत्रमा सुरुमा व्यक्तिको वैयत्तिक र जैविक विवरण समावेश गरिनेछ ।

मेमोरी चिप्ससहितको मेशिन रेडिवल कार्ड हुने भएकाले पछिबाट यसमा आवश्यक अन्य सम्पूर्ण विवरण समेत अटाउँन सकिने बताइएको छ । तत्काललाई नेपाली नागरिकताको प्रमाण पत्र लिईसकेका र नागरिकता लिन योग्यता पुगेकाहरुलाई परिचय पत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले जनाएको छ । नेपाल सरकारले वि.सं. ०६६/६७ देखि नै राष्ट्रिय परिचय पत्र वितरणको अवधारणा अघि सारेको थियो । राष्ट्रिय परिचय पत्र वितरण गर्ने निर्णय भने ०७४ भदौ १९ गतेको  मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

यसअघि फागुन पहिलो हप्तादेखि सुरु गर्ने भनिएतापनि प्राविधिक कारणले सुरु गर्न नसकिएको भन्दै आउँदो जेठ २५ देखि सुरु गरिने विवरण संकलन कार्यको लागि सम्पूर्ण तयारी भएको निर्देशक जोशिले बताउनुभयो ।

तपाईको प्रतिक्रिया