सक्रान्तिबजार । देउराली सोसाइटी तेह्रथुमले आठराई गाउँपालिकाका ६० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, शैक्षिक सामाग्री र झोला लगायत सामाग्रीहरु वितरण गरेको छ । समुदायमा रहेका गरिब र जेहेन्दार विद्यार्थीहरुको पहिचान गरी नियमित रुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सात वटै वडाका ६० जना विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री वितरण गरेको हो ।

वडामा रहेका सामुदायिक विद्यालयहरुबाट विपन्न विद्यार्थीहरु छनौट गरी स्थानीय जनप्रतिनिधिहरु समेतको सहभागीतामा प्रति विद्यार्थी एक हजार रुपैयाँ बराबरका विद्यालय पोशाक, शैक्षिक सामाग्री र झोला लगायत सामाग्रीहरु वितरण गरिएको देउराली सोसाइटीका सामाजिक परिचालक सुवास कन्दङवाले बताउनुभयो । त्यस्ता सामाग्री पाउनेमा ह्वाकुका ७ जना, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, खाम्लालुङ र सक्रान्तिका ९–९ जना विद्यार्थीहरु रहेका छन् ।

एक्सनएडन नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटीले आठराई गाउँपालिकाका सबै वडाहरुमा स्थानीय अधिकार कार्यक्रम सन्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत विपन्न परिवारका बालबालिकाको शैक्षिक उन्नयनका लागि सहयोग गरिएको देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर आम्बुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया