तेह्रथुम । तेह्रथुमका चार वटा गाउँहरुमा यौन तथा प्रजनन् अधिकार सुदृढिकरण परियोजना सन्चालन भएपछि यौन तथा प्रजनन् शिक्षाका सम्बन्धमा सचेतना वृद्धि भएको छ । सो परियोजना सन्चालन भएपछि सोल्मा, बसन्तपुर, मोराहाङ र आम्बुङमा सुरक्षित गर्भपतन गर्नेको संख्या समेत बढेको छ ।
आइपास नेपालको सहयोगमा संमृद्ध तेह्रथुमका लागि अभियानले सन्चालन गरिरहेको सो परियोजना सन्चालन भएपछि ती गाउँका स्वास्थ्य संस्थाहरुबाट ३९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सो परियोजनाका कार्यक्रम अधिकृत नरमाया श्रेष्ठका अनुसार परियोजना सन्चालन भएपछि सोल्मा स्वास्थ्य चौकीबाट ६ जना, मोराहाङ स्वास्थ्य चौकीबाट १५ जना र आम्बुङ स्वास्थ्य चौकीबाट ६ जना तथा बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट १२ जनाले सेवा लिएका छन् ।
पाँच महिना यता सन्चालित सो परियोजनाले हरेक स्वास्थ्य संस्था अन्तर्गत पाँच–पाँच वटा किशोरी, आमा, दम्पत्ती, सरोकारवाला र विषयगत समुहहरु गठन गरी सचेतना अभिवृद्धिको कार्यक्रम भइरहेको छ । आइपास नेपालकै सहयोगमा जिल्लाका १४ वटा स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । ती स्वास्थ्य संस्थाहरुबाट चैत्र मशान्तसम्ममा १ सय ६० जनाले सेवा लिएका थिए ।