ओखलढुंगा, जेठ १०–  सुनकोशी गाउँपालिका–१, ढेबुवाघाटको माझी बस्तीमा खानेपानीको अभाव छ ।

माझि समुदाय पानीको मुहानको अभावमा वषौंदेखि सुनकोशी नदीको दुषित पानी पिउन बाध्य छन् । ढेबुवा घाटका माझी समुदायले पिउने गरेको पानीको मुहान सुकेपछि अल्पसंख्यक समुदायका माझीहरुले ९ वर्षदेखि नदीको दुषित पानी पिउने पानीका रुपमा प्रयोग गर्दै आएका छन् ।

वर्षामा सुनकोशीमा बाढी आउँदा होस् वा हिउँद महिनामा बाह्रै महिना उनीहरु नदीकै धमिलो पानीमा भर पर्नुपर्छ । स्थानीय रहरबहादुर माझीका अनुसार ढेबुवाका माझीहरुले सुनकोशीको पानीको भरमा गुजरा चलाएको ९ वर्ष भएको छ ।

‘सुरु सुरुमा नदी किनारबाट खानेपानी निकाल्ने तरिका थाहा नहुँदा भलमै पनि थापेर खायौं, अहिले किनारामा पोखरी खनेर बस्तुलाई खुवाउन र मान्छेले खान प्रयोग गरिरहेका छौं’, उहाँले भन्नुभयो । अहिले पोखरी पनि सुनकोशीमा आएको बाढीले पुरिएको छ । अहिले नदीमा बाढी आएकाले गन्हाउने धमिलो पानी पिउन बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।

ढेबुवाका स्थानीयलाई नदीको फोहोर पानी खानाले विभिन्न किसिमका रोगले सताइरहन्छ । ‘पानीकै कारणले होला बेला–बेलामा पेट दुख्ने झाडापखाला लाग्ने गर्छ’, रहरबहादुर माझी भन्नुहुन्छ, ‘हिउँदोमा भन्दा वर्षामा बढी बालबच्चा र ठूला पनि बिरामी परिन्छ ।’

ढेबुवा घाटमा ७ घर परिवार मात्रै माझी बस्छन् । सात परिवारका करिब ५०–६० जनसंख्या छ । बालवालिका तथा वृद्धवृद्धाहरुलाई दुषित खानेपानीका कारणले लाग्ने रोगहरुले बढी लाग्ने गरेको छ ।

ढेबुवाघाटका माझी समुदायले भोगेको खानेपानी समस्याका बारेमा स्थानीय सरकार बेखबर जस्तै छ । वडा कार्यलयबाट ढेबुवामा पम्पसेट निर्माणका लागि आर्थिक वर्ष २०७४/२०७५ मा योजना त परेको छ । पाँच लाखमा पम्पसेट खरिद गर्ने योजना भए पनि अहिलेसम्म सुरु भएको छैन ।

सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र अधिकारीले गाउँका खानेपानी समस्या हल गर्न गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया