संघीयता कार्यान्वयनका क्रममा ग्रामीण क्षेत्रका बजारहरुलाई केन्द्र बनाएर स्थानीय तह गठन भएपछि जिल्लाका सदरमुकामहरु सुनसान बनेका छन् । प्रदेश नं. १ का अधिकांश पहाडी जिल्लाका सदरमुकामहरुमा पहिले भन्दा तुलनात्मक रुपमा जनसंख्याको चाप घटेको छ । सदरमुकाममा रहेका सरकारी कार्यालयको सेवा लिन गाउँबाट आउने सेवाग्राहीको उपस्थिति पातलिएपछि सदरमुकामहरु सुनसान बन्न थालेका हुन् ।

गाउँपालिका र नगरपालिका गठन भएर केन्द्र तोकिएका ग्रामीण बजारहरुमा भने शहरीकरण बढेको छ । सेवाग्राही नागरिकले राज्यको तर्फबाट प्राप्त गर्ने सेवा सुविधा र गुनासो गर्ने जनप्रतिनिधि समेत स्थानीय तहमै छन् । स्थानीय तह पहिलेभन्दा शक्तिशाली र धेरै अधिकारप्राप्त छन् । नागरिकहरु सदरमुकामका कार्यालयसम्म सेवा लिन पुग्नै पर्दैनँ । यसकारण पनि पहिले सदरमुकाम रहेको बजार भन्दा गाउँमा स्थानीय तहको केन्द्र तोकिएका बजारहरुमा चहल पहल बढेको छ । केन्द्र तोकिएका स्थान र आसपासका क्षेत्रमा हाल घरघडेरीको किनबेच र घर निर्माणको कार्य समेत तीब्र रुपमा भइरहेको छ ।

ती बजारहरुमा जग्गाको मुल्य समेत ह्वात्तै वृद्धि भएको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ्गका सेवा सुविधा गाउँ गाउँबाटै प्राप्त हुने भएपछि सदरमुकाम सुनसान भएको छ । पहिले क्षेत्रीय सदरमुकाम तोकिएको धनकुटामा समेत सदरमुकाम सेवा सुविधा गाउँबाटै प्राप्त हुने भएपछि सदरमुकाम सुनसान बनेको धनकुटा काग्रेसका उपसभापति नवीन किशोर शाक्यले बताउनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा म्याङलुङ्ग बाहेकका शुक्रबारे, बसन्तपुर, मोराहाङ, औँशीडाँडा र सक्रान्तिबजारमा चहल पहल बढेको छ । यी बजारमा दैनिक चहल पहल बढेपछि बजारमा व्यापारिक कारोबार समेत वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया