काठमाडौं, जेठ ९ – नेपाल विद्युत प्राधिकरणले वैशाख ३१ गते सोमबारदेखि उद्योगमा भएको लोडसेडिङ पनि हटाएर चौबीसै घन्टा बिजुली दिने घोषणा गरेपछि नेपाल लोडसेडिङमुक्त भएको छ ।

काठमाडौं उपत्यकाका बासिन्दाले २०७३ सालको कात्तिकदेखि नै लोडसेडिङको झमेला भोग्नुपरेको थिएन । काठमाडौंपछि पोखरा, नारायणगढ, बुटवल, विराटनगरलगायतका सहरमा पनि लोडसेडिङ अन्त्य भयो । नागरिकलाई घरयासी प्रयोजनको लागि चौबीसै घन्टा बिजुली दिए पनि नेपाल विद्युत प्राधिकरणले उद्योगलाई भने लोडसेडिङमुक्त गर्न सकेको थिएन । तर वैशाख ३१ गते सोमबारका दिनदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि चौबीसै घण्टा बिजुली दिने घोषणा गरेको छ ।

२ वर्षमा भएको कायापलट

धेरैअघि होइन, २ वर्षअघि अर्थात २०७३ सालको बर्खायाममा पनि दैनिक ८ घन्टा लोडसेडिङ हुन्थ्यो । हिउँदमा १६ घन्टा बत्ती नहुनु सामान्य कुरा थियो । देशमा बिजुली उत्पादन नभएकाले अध्यारोमा बस्नुपरेको नागरिक स्वीकार गर्थे ।

तर नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले २०७३ सालको भदौ २४ गते राजीनामा दिएपछि भदौको २९ गते कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भए । देशैभरका खोलानालामा भरीभराउ पानी भएको र विद्युतगृह पूर्ण क्षमतामा चल्ने अवस्था भए पनि घिसिङ प्राधिकरणमा आउँदा दैनिक ८ घन्टा लोडसेडिङ थियो ।

तर कुलमानले लोडसेडिङको चर्को लोडसेडिङविरुद्ध अभियान थालिहाले । उनी आएपछि नै हल्ला चलेको थियो, ‘मुकेश काफ्लेले विजुली बेचेर नागरिकलाई अध्यारोमा राखेका छन, कुलमान आएपछि ठिक हुन्छ ।’

नभन्दै कुलमान घिसिङले त्यो सावित गर्न थालिहाले । भदौको अन्तिममा प्राधिकरणमा आएका घिसिङले बिजुलीको सबैभन्दा धेरै माग हुने तिहारको दिपावलीको दिन काठमाडौं उपत्यकासहित, बनेपा, धुलिखेल र पाँचखालमा लोडसेडिङ अन्त्यको परीक्षण सुरु गरे । उनले आउँदाबित्तिकै भारतबाट बिजुली किनेका थिएनन्, भएको बिजुलीको चुस्त व्यवस्थापन गरेर नागरिकलाई सरप्राइज दिए ।

काठमाडौंपछि २०७३ सालको चैतभित्रै पोखरा, चितवन हुँदै पूर्वाञ्चल पनि लोडसेडिङमुक्त क्षेत्र घोषणा भए । कुलमान घिसिङले प्राधिकरणमा नियुक्त भएको २ वर्ष पूरा हुन नपाउँदै देशलाई लोडसेडिङ मुक्त बनाएर कुशल व्यवस्थापकको परिचय दिए ।

के हाम्रो बिजुलीले सम्भव भयो लोडसेडिङमुक्त नेपाल ?

२०७३ सालको दिपावलीको दिन देशमा १ हजार ४ सय मेगावाट बिजुलीको माग थियो । भारतबाट ल्याएको बिजुलीसहित ९ सय ६० मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा थियो । तर कुलमानले कुशल व्यवस्थापन गर्दै दिपावलीको दिन अँध्यारो हुन दिएनन् ।

अहिले नेपाल लोडसेडिङमुक्त भएको छ । के यो हाम्रै उत्पादनले सम्भव भएको हो त ? पक्कै होइन । अहिले भारतबाट दैनिक औसतमा  ४ सय ५० मेगावाट बिजुली आयात भैरहेको छ । अहिले नेपाललाई पिक आवर मानिएको बिहान र बेलुका १३ सय मेगावाटसम्म बिजुली चाहिएको छ भने सामान्य समयमा ११ सय बिजुली चाहिएको छ ।

तर नेपाल विद्युत प्राधिकरणले ५ सय ७ र निजी क्षेत्रले ५ सय ११ गरी १ हजार १६ मेगावाट क्षमताका आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रशारणमा जोडेका छन् ।  तर यी आयोजना रन अफ् द रिभर प्रणालीमा आधारित भएकाले हिउँदमा ५ सय मेगावाट बिजुली पनि उत्पादन हुँदैन त्यसैले भारतमा भर पर्नु परेको छ ।

कुन प्रशारण लाइनबाट कति बिजुली आयात ?


यीबाहेक १ सय किलोवाट, २ सय किलोवाटलगायत सानो परिमाणमा विभिन्न नाकाबाट बिजुली आयात भैरहेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बनेका र ७५/७६ मा बन्ने आयोजनाको विवरण

आर्थिक वर्ष २०७४/७५ मा नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबाट गरी १ सय ६४ मेगावाटका आयोजना बनाउने लक्ष्य राखिएको थियो । आर्थिक  वर्ष सकिन लगभग २ महिना बाँकी रहँदा ७० मेगावाट क्षमताका १३ वटा आयोजनाको निर्माण सम्पन्न भैसकेको छ भने ९४ मेगावाट क्षमताका ७ वटा आयोजना यसै आर्थिक वर्ष अर्थात असारसम्म निर्माण पूरा हुनेछन् ।

आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न भएका आयोजना

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलिया आयोजना माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले  उद्घाट गर्नुभएको थियो । त्यसबाहेक निजी क्षेत्रले निर्माण सम्पन्न गरेका आयोजना निम्न छन् ।

निजी क्षेत्रले सम्पन्न गरेका आयोजना


यसै आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य रहेका आयोजना

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना पनि असारअघि नै सक्ने लक्ष्य लिइएको छ । प्राधिकरणले निर्माण गरेको यो आयोजनाबाहेक अन्य आयोजनाको विवरण यस्तो छ :


आर्थिक वर्ष २०७५/७६ मा आउँदैछ ६ सय ६१ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

आउँदो आर्थिक वर्षमा राष्ट्रिय प्रशारण लाइनमा ६ सय ६१ मेगावाट बिजुली जोडिँदैछ । १२ वटा आयोजना पूरा हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिलेसम्म नेपालमा बन्दै गरेको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी पनि यसै वर्ष पूरा हुँदैछ । पूर्ण क्षमतामा चलाउन सकेमा माथिल्लो तामाकोशीबाट मात्रे ४ सय ५६ मेगावाट बिजुली उत्पादन हुनेछ ।

हाम्रै बिजुलीले लोडसेडिङमुक्त नेपाल कहिले सम्भव छ त ?

अहिले बिजुलीको माग ११ सय देखि १३ सय मेगावाटसम्म रहेको छ । अबको २ वर्षभित्र पूरा हुने आयोजनाको विवरण हेर्दा राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाको क्षमता २ हजार मेगावाट पुग्ने देखिन्छ ।

तर हाम्रा धेरैजसो आयोजना रन अफ् द रिभर प्रणालीमा आधारित भएकाले बर्खामासमा मात्रै पूर्ण क्षमतामा चल्छन् । कुलेखानी जस्ता जलाशयमा आधारिक आयोजना भएको भए जलाशयमा पानी भरेर हिउँदमा पनि पूर्ण क्षमतामा चलाउन सकिन्थ्यो ।

तर रन अफ् द रिभर प्रणालीमा आधारिक आयोजनाबाट हिउँदमा एक तिहाइ पनि बिजुली उत्पादन हुन्न । उदाहरणको लागि माथिल्लो तामाकोशीको कुरा गर्दा यो आयोजना ४ सय ५६ मेगावाट क्षमताको हो । तर हिउँदमा यो आयोजनाबाट डेढ सय मेगावाट पनि बिजुली उत्पादन गर्न मुश्किल छ ।

अन्य आयोजना पनि यस्तै हुन् । अधिकतम क्षमता जति हो  त्यसको एकतिहाइ बिजुली पनि हिउँदमा उत्पादन गर्न मुश्किल हुन्छ । त्यसैले झट्टै नेपाल विबुलीमा आत्मनिर्भर हुने छाँट देखिन्न ।

‘३५ सय मेगावाट क्षमताका आयोजनासँग विद्युत खरिद सम्झौता भैसकेको छ, केही निर्माण भैरहेका छन् भने केही कागजी प्रक्रिया पूरा गर्दैछन् तर पनि हामी आफ्नै  बिजुली बालेर आत्मनिर्भर हुन भने समय लाग्छ’, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भन्नुभयो, ‘हिउँदमा पनि नेपालबाटै उत्पादन भएको विजुलीमा आत्मनिर्भर हुन हामीलाई कम्तीमा ३ वर्ष र बढीमा ४ वर्ष लाग्छ ।’

बर्खायाममा भने अबको एक वर्षभित्रै नेपाल बिजुलीमा आत्मनिर्भर हुनेछ । ‘हामीले बनाइरहेका आयोजना बर्खायाम लगभग पूर्ण क्षमतामा चल्छन्, यसरी हेर्दा आउने वर्ष या अर्को वर्षको बर्खायाममा हामीलाई नेपालमै उत्पादित बिजुलीले पुग्नेछ’, प्रवक्ता अधिकारीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया