काठमाडौँ — मोबाइल फोनलाई अचेल जिस्क्याएर ‘एप फोन’ भन्न थालिएको छ । पानी खान सम्झाउने ‘अक्वाअलर्ट’ देखि डेटमा छँदा प्रेमीसँग मीठो बोल्न सिकाउने ‘क्राउड पाइलट’ र नक्सा पहिल्याउन सघाउने ‘वेज’ अथवा ‘म्याप्स’ जस्ता एप एप–स्टोरहरूमा पाइन्छन् । मोबाइलको ब्यालेन्स रिचार्ज गर्न, होटलबाट खान मगाउन र बिजुली/पानीको बिल तिर्न पनि एपबाटै सम्भव हुन थालेको छ ।

मुटुको धडन नाप्नेदेखि गालाको डन्डीफोर फुटाउन सिकाउने एपसमेत बनेका छन् । मोबाइल सफ्टवेयर एप्लिकेसनको प्रयोग बढेपछि सन् २०१० मा ‘एप’ लाई ‘वर्ड अफ द इयर’ घोषित गरिएको थियो । विदेशी एप त भइहाले हामीकहाँ स्थानीय एप पनि प्रशस्तै निर्माण हुन थालेका छन् । हालै मात्र काठमाडौं महानगरपालिकाले गाडीको पार्किङ बुक गर्न मिल्ने मोबाइल एप लन्च गर्न लागेको जानकारी दिएको थियो ।

यस्ता एप्लिकेसन प्रयोग नगरी धरै नहुने अवस्था आएको गायिका मिलन नेवारको अनुभव छ । उनले मोबाइलमा ‘हाम्रो पात्रो’ र ‘नेपाली किबोर्ड’ डाउनलोड गरेकी छन् । फेसबुक म्यासेन्जर, भाइबर, स्काइप, युट्युब आदिको कुरै गर्नु परेन । यसका अतिरिक्त ‘सेयर इट’, ‘युट्युब भिडियो डाउनलोडर’ र ‘भिडियो कन्भर्टर’ एप उनका आवश्यकता हुन् । जति वटा मोबाइल फेरे पनि उनले हरेकमा यी एप्लिकेन्सन्स डाउनलोड गरेकै हुन्छिन् ।

‘ब्लुटुथ काम छैन अचेल,’ मिलनले भनिन्, ‘सेयर इट धेरै फास्ट छ । भिडियो कन्भर्टर मलाई चाहिराख्ने एप हो । गीत/भिडियोको साइज ठूलो भयो भने सानो साइजमा कन्भर्ट गरेर अरूलाई पठाउने गरेकी छु ।’ धेरै एप डाउनलोड गरेर मोबाइल ह्यांग हुँदाको तनावसमेत उनले झेलेकी छन् । त्यही भएर आजभोलि अत्यावश्यक एप मात्र डाउनलोड गर्ने गरेको बताइन् । हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ पनि अनेकथरी एप चलाउनेमध्येमा पर्छन् । उनीसँग ‘बेस्ट रिचार्ज’ एप छ जसले मोबाइलको ब्यालेन्स रिचार्ज गर्न सहज बनाएको अनुभूत उनले गरेका छन् । भिजिटिङ कार्डहरू स्क्यान गरेर कन्ट्याक्टमा स्वत: सेभ गरिदिने ‘स्न्याप बिज कार्ड’ र कान्तिपुर पब्लिकेसन्सको ‘कान्तिपुर डेली’ एप पनि उनले मोबाइलमा राखेको बताए ।

‘हराएको मोबाइल फेला पारिदिने एप समेत थियो मसँग’, केदारले भने, ‘अहिले त्यो डिलिट गर्दिएँ । मोबाइलमा स्पेस कम भयो ।’ एपहरूले डे टु डे लाइफ सहज बनाउन मद्दत गर्ने गरेको उनको भनाइ छ । साना–तिना झन्झट हटाउन सघाउने भएकाले थरीथरीका एप प्रयोग गरिहिँड्ने बताए । ‘कतिपय एप केही समय चलाएपछि डिलिट गरिदिन्छु’, उनले भने, ‘कुनै चाहिँ सधैं चाहिराख्छ ।’

गायक यश कुमारले धेरै चलाउने एप युट्युब हो । यसमा उनी विभिन्न देशका फिल्म र गीत हेर्छन् । इमो, भाइबर, स्काइप र हवाट्सएपमार्फत साथीभाइसँग सम्पर्क गर्ने गरेको बताए । ‘फेसबुक म्यासेन्जरचाहिँ म चलाउदिनँ,’ उनले भने, ‘बेकारमा बिजी बनाउँछ त्यसले ।’ उनलाई जे कुराका लागि पनि एपमै भर पर्न मन लाग्दैन । यसको लत लागेर दिमाग बोधो होला भन्ने डर छ । परनिर्भर भइएला भनेर पनि आफूले थोरै मात्र एप प्रयोग गर्न गरेको बताए ।

स्टाटिस्टिका डट कमका अनुसार एन्ड्रोइडको गुगल प्लेमा ३५ लाख, आईओएसको एप स्टोरमा २२ लाख र विन्डोज टेनको माइक्रोसफ्टमा साढे ६ लाख एप्स उपलब्ध छन् । एन्ड्रोइडको लोकप्रिय एप्समध्येका जीमेल, गुगल म्याप्स, युट्युब र फेसबुकहरू खर्बौं पटक डाउनलोड भएका छन् । सित्तैमा पाउने एपहरू बढी डाउनलोड हुन्छन् । क्यान्डी क्रस सागा, फ्लीपबोर्ड, सुपर–ब्राइट एलईडी फ्लासलाइट, टेम्पल रन, माई टङिक टमजस्ता एप पनि धेरै डाउनलोड हुनेमध्येमा पर्छन् ।

कान्तिपुरबाट ।

तपाईको प्रतिक्रिया