तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका–४, इवाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न परिवारका नौ जना छात्रछात्राहरुलाई विद्यालय पोशाक र झोला वितरण गरिएको छ । एक्सन एड नेपालको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आठराई गाउँपालिकामा सन्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत छात्रछात्राहरुलाई पोशाक र झोला वितरण गरिएको हो ।

इवा स्थित रन्दल आधारभूत विद्यालयमा भएको कार्यक्रममा आधारभूत तहमा अध्ययनरत पाँच जना छात्रा र चार जना छात्रहरुलाई पोशाक र झोला वितरण गरिएको सामाजिक परिचालक सनिशा भेटुवालले बताउनुभयो । उहाँका अनुसार प्रणामी माविका सविना लाम्घादे, रन्दल आधारभूत विद्यालयका रोशन खवास र देवी द्यौराली, भानु आधारभूत विद्यालयका विनिता जर्घा र तृष्णा मोते, अग्राखे आधारभुत विद्यालयका विशाल माझी र खिना माझी, जनता आधारभूत विद्यालयका विक्रम खपाङ्गी र इक्सा कन्दङवालाई पढाईका लागि सहयोग पुगोस् भन्ने ध्येयले उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

सम्बन्धित विद्यालयका संरक्षक शिक्षकहरु समेतको उपस्थितिमा भएको कार्यक्रममा आठराई गाउँपालिका–४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले विद्यार्थीहरुलाई पोशाक र झोला वितरण गर्नुभएको थियो । सो अवसरमा आठराई गाउँपालिका–४ स्थित रन्दल आधारभूत विद्यालयमा स्थानीय अधिकार कार्यक्रमकै सहयोगमा अतिरिक्त क्रियाकलाप समेत सन्चालन भएको छ ।

तपाईको प्रतिक्रिया