रौतहट, जेठ ८ – रौतहटमा दलित समुदायकी एक महिलालाई बोक्सी आरोपमा आफ्नै जेठाजू र जेठानीसहित परिवारका सदस्यहरुले निर्घात रुपमा कुटपिट गरेका छन् ।

गौर नगरपालिका वडा नम्बर–३, को स्थानीय रामसुन्दर रामकी ३० वर्षीय श्रीमती गीतादेवी रामलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका हुन् । छोरालाई बोक्सी लगाएको आरोप लगाउँदै उनकै जेठाजू चुन्नी राम, जेठानी सुमित्रादेवी र आफन्तहरुले आफूलाई लछारपछार गरेर निर्घात कुटपिट गरेको पीडित गीतादेवीले बताउनुभयो ।

पीडितकी जेठानी सुमित्रा गौर वडा नं–३, का निर्वाचित वडा सदस्य हुनुहुन्छ । जेठानी सुमित्राको छोरा विजय राम गएको एक वर्षदेखि बिरामी रहेकोले उपचार गराउँदासमेत निको नहुँदा धामी झाँक्रीले देवरानी गीताले बोक्सी लगाएको बताएपछि सोमबार साँझ जेठानीसँगैं जेठाजू लगायतका आफन्तहरु मिलेर लछारपछार गर्दै निर्घात कुटपिट गरेको पीडितलाई उपचार गराउन सँगै आएकी अर्की जेठानी मिनादेवीले बताउनुभयो ।

कुटपिटबाट घाइते बनेकी गीताले सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय पुगेर घटनाको विषमा प्रहरीलाई जानकारी गराउनुभएको थियो । छाती र शरीरको अन्य भागमा गहिरो चोट लागेकोले उहाँको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको आकस्मिक कक्षका प्रमुख रबीन्द्र झाले बताउनुभयो ।

साख्खै जेठानी, जेठाजू र भतिजाहरु मिलेर श्रीमतीलाई निर्घात रुपमा कुटपिट गरिरहेको अवस्थामा बचाउन जाँदा आफूलाई समेत हातपात गरेको रामसुन्दरले बताउनुभयो ।

जेठानीको छोरा विजय बिरामी भएको बेला आफूहरुले दुई पटक गरेर साढे २१ हजार रुपैयाँ सापटी दिएको र त्यो रकम माग्न जाँदा विभिन्न आरोप लगाएर आफूलाई कुटपिट गरेको पीडितको भनाई छ । वडाको महिला सदस्यजस्तो जिम्मेवार पदाधिकारीद्वारा बोक्सी भनेर कुटपिट गरिनु अत्यन्तै निन्दनीय भएको स्थानीय चन्देश्वर राउतले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रबीन्द्र केसीले घटनाको विषयमा सुन्नमा आएलगत्तै प्रहरीले अनुसन्धान गरिरहेको, पीडकहरुको खोजी कार्य जारी रहेको तथा अनुसन्धानपछि वास्तविक दोषी ठहर भएमा कानून बमोजिम कारवाही गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया