–प्रकाश धौलाकोटी 

तेह्रथुम । तेह्रथुमका छ वटै स्थानीय तहहरुले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम थालेका छन् । सबै स्थानीय तहले पुर्वाधार तर्फको ठुलो रकम सडक निर्माणमा खर्चिने तयारी गरेका छन् । निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालको पहिलो वर्षको बजेट सडक निर्माणमा प्राथमिकता दिएर खर्च गर्ने निर्णय लिएका हुन् ।

सबै स्थानीय तहले डेढ करोड भन्दा बढी रुपैयाँ सडक निर्माण तथा स्तरोन्नतिमा छुट्याएका छन् । जनप्रतिनिधिको प्राथमिकतामा सडक निर्माणका योजना परेपनि जिल्लाका मुख्य–मुख्य सडकहरुमा भने स्थानीय तहको बजेट खर्च हुने छैन । स्थानीय तहले चाहेर पनि मुख्य सडकहरुको निर्माण सिघ्र गतिमा नहुने भएको छ । जिल्लाको सदरमुकाम जोड्ने एकमात्र कालोपत्रे चित्रे–म्याङलुङ्ग खण्ड (३१ किमि) कालोपत्रे उप्किएर क्षत्विक्षत् भएको छ ।

यो नै जिल्ला प्रवेश गर्ने मुख्य सडक हो । मध्यपहाडी लोकमार्ग आयोजनाले यही सडकमा नयाँ ट्रयाक ओपनको तयारी गरिरहेको छ । ट्रयाक ओपन गरेर पुनः कालोपत्रे गर्न कम्तिमा पनि दुई वर्ष लाग्नेछ । त्यतिका समय जिल्ला भित्रिने यात्रुले सधै सास्ती बेहोर्नुपर्ने छ । यस्तै सिधुवा–शुक्रबारे सडक खण्ड र लोकमार्गकै म्याङलुङ्ग–सक्रान्ति–माझीटार सडक खण्डमा पनि स्थानीय तहको बजेट खर्च हुनेछैन ।

बसन्तपुर–गुफा, गुफा–देउराली–पोक्लाबाङ–सिम्रा सडक खण्डमा पनि स्थानीय तहले बजेट खर्च गर्ने छैनन् । ती सडक क्षेत्रीय तथा राष्ट्रिय योजना अन्तर्गत नै निर्माण हुने भएकाले सिघ्र गतिमा काम हुनेमा उपभोक्ता शशंकित छन् । स्थानीय तहले प्राथमिकतामा राखेका सडकमध्ये शाखा र सहायक सडकहरु धेरै छन् ।

बस्तीस्तरमा पुग्ने सडकको ट्रयाक ओपन र स्तरोन्नतिका योजनाहरु धेरै वटा रहेका छन् । गाउँमा किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पु¥याउन सहज बनाउन मुख्य राजमार्ग जोडिने सहायक र शाखा सडकहरुलाई प्राथमिकतामा राखिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । जनप्रतिनिधिहरुले सडकबाटै समृद्धि सम्भव भएको भन्दै पुर्वाधार तर्फको अधिक बजेट सडकमा खर्च गर्ने भएका हुन् ।

पुर्वाधार तर्फ खानेपानी, सिंचाई र सडकमै बढी बजेट खर्च भइरहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । ‘पुर्वाधारको बजेट सडकमा धेरै खर्च गर्ने तयारी छ, नगर क्षेत्रका सबै सडकलाई बाह्रै महिना सन्चालन गर्न योग्य बनाउने लक्ष्य हो,’ उहाँले भन्नुभयो । लालीगुराँस नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नतिका लागि वडाको बाहेक नगरपालिकाबाट मात्रै १ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सदरमुकाम समेत रहेको म्याङलुङ्ग नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नतिका लागि ४ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । फेदाप, आठराई र मेन्छ्यायेम गाउँपालिकाले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सबै स्थानीय तहका सबै वडाको केन्द्रसम्म सडकको ट्रयाक ओपन यसअघि नै भइसकेको छ ।

स्थानीय तहका केन्द्रहरुसम्म दैनिक सवारी सन्चालन भइरहेको छ । कच्ची र निर्माणाधीन ती सडकहरुमा हिउँदभर सवारी चलेपनि जेठ दोश्रोसाताबाट सवारी चल्न सक्दैनन् । सडकलाई स्थानीय तहले प्राथमिकतामा राखेपनि बाह्रै महिना सवारी चलाउन तुरुन्तै असम्भव झैँ छ । स्थानीय तहहरुले चालु आवका लागि योजना तथा कार्यक्रम बनाइसकेपनि कर्मचारी अभावका कारण कार्यान्वयनमा ल्याउन भने सकेका छैनन् ।

स्थानीय तहले विनियोजन गरेको सबै बजेट खर्च हुन मुस्किल परेको छ । उपभोक्ता समिति गठन भएर आधा बढी काम भएपनि धेरै सडक योजनाहरुको उपभोक्ता समिति गठन हुनै बाँकी छ । सबैभन्दा पहिले गाउँसभा सकेको फेदाप गाउँपालिकाले पनि न्युन मात्रै विकास बजेट खर्च गर्दैछ । धेरै वटा सडक निर्माणका योजनाहरुको उपभोक्ता समिति गठन भई काम भइरहेको छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

नगरपालिकाले किन्यो स्काभेटर

उपभोक्ता र निर्माण व्यवसायीले सडक निर्माणका क्रममा प्रयोग गरेका स्काभेटरले मोटो रकम बाहिर लगेको भन्दै लालीगुराँस नगरपालिकाले आफ्नै स्वामित्व हुने गरी स्काभेटर खरिद गरेको छ । नगर क्षेत्रका सवै वडालाई सडक सञ्जालले जोड्ने अभियान सुरु गरेको नगरपालिकाले यी सडक निर्माणमा यी नै स्काभेटर प्रयोग गर्ने गरी खरिद गरेको हो । विकासको प्रमुख आधार सडकलाई प्राथमिकतामा राखेको नगरपालिकाले त्यसका लागि सबैभन्दा बढी बजेट समेत विनियोजन गरेको छ ।

स्थानीय जनशक्ति प्रयोग गर्दा काममा ढिला हुने र नगर क्षेत्रभन्दा बाहिरका यस्ता निर्माण सामग्री प्रयोग गर्दा महँगो पर्ने भएकाले नगरपालिकाले आफ्नै स्रोतमा जेसिवी र स्काभेटर खरिद गरेको नगर प्रमुख अर्जुन मावोहाङले बताउनुभयो । नगरपालिकाले अघिल्लो वर्ष नै ९२ हर्जपावर क्षमताको टाटा कम्पनीको एउटा जेसिवी खरिद गरेको थियो । कम क्षमताको यो जेसिवीले सडक निर्माणमा ढिला हुने भएपछि ९२ लाखको लागतमा अर्को २२ टन क्षमतार्को स्काभेटर गरिद गरेको नगर प्रमुख माबोहाङले बताए । नगरपालिकाले खरिद गरेका स्काभेटर गाउँ गाउँमा गठन भएका उपभोक्ता समितिले न्यून मूल्यमा प्रयोग गर्न पाउनेछन् ।

सबै स्थानीय तहमा चक्रपथ

चुनावका ताका सबै राजनीतिक दलहरुले स्थानीय तहमा चक्रपथको नारा बाँडेका थिए । अहिले निर्वाचित जनप्रतिनिधि पनि चक्रपथ निर्माणको अवधारणालाई अघि बढाएका छन् । आठराई गाउँपालिकामा चक्रपथ सडक निर्माण गर्दा सवै वडा कार्यालय समेत छुवाउने तयारी रहेको अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो ।

मेन्छ्यायेम गाउँपालिकाले पनि चक्रपथ निर्माणको योजना अघि सारेको छ । गाउँपालिकाले चक्रपथ सडकलाई प्राथमिकतामा साथ बाह्रै महिना सन्चालन योग्य बनाउने तयारी गरेको अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो । ‘सबै सडक बनाउन सम्भव पनि हुँदैनँ, सबैभन्दा पहिले यही चक्रपथ सडकको अवधारणालाई अगाडि ल्याएर त्यसैलाई बाह्रै चल्ने बनाउने तयारी छ,’ उहाँले भन्नुभयो ।

मध्यपहाडी लोकमार्गले छोएका दश वटा नमुना शहरमध्ये एकको रुपमा विकास भइरहेको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरलाई घेरेर यहाँ पनि चक्रपथ सडकको अवधारणा अघि सारिएको छ । नयाँ शहरी विकास आयोजना र लालीगुराँस नगरपालिकाले संयुक्त रुपमा चक्रपथ निर्माणलाई प्राथमिकता दिएका छन् ।

तपाईको प्रतिक्रिया