तेह्रथुम । जिल्लाको छथर गाउँपालिका–३, पन्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनि सन्तान, उचित खानपान, हेरचाह र स्याहार सुस्यारमा कमी, विद्यालयमा अनियमितता जस्ता कुरा यहाँका बासिन्दाका लागि सामान्य लाग्छन् ।
सिंगो गाउँ गरिबी र अशिक्षाको सिकार बनेको छ । गरिबीले सबैका घरमा बिहान खाए बेलुका के खाने ? भन्ने चिन्ता छ । बालबालिका नियमित विद्यालय जाँदैनन् । कतिपयको जन्मदर्ता पनि छैन । गाउँ नजिकै विद्यालय भएपछि सिंगो गाउँबाट अहिलेसम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् । गाउँमा शिशु मृत्युदर उच्च छ ।
छोरा छोरीको जन्मदर्ता नहुँदा विद्यालय भर्ना नै गर्न नपाएको २७ वर्षे सविना लिम्बुले बताउनुभयो । १२ वर्षमा भागेर विहे गरेकी उनको आफ्नै नागरिकता छैन । केहीवर्ष देखि श्रीमान् घरमा छैनन् । १४ वर्षमै आमा बनेकी उहाँले जन्माएका ७ मध्ये ५ सन्तान जीवित छन् । श्रीमान्ले छाडेर सम्पर्कविहीन भएपछि सविना र नानीहरु विचल्लीमा परेका छन् ।
श्रीमान् आउलान् र विहे दर्तासँगै पाँच जना नानीहरुलाई विद्यालय भर्ना गराउन पाइएला भन्ने आशा छ उहाँलाई । ज्यामिरेकै ४२ वर्षे भीमकुमारी लिम्बुले पनि १७ सन्तानलाई जन्म दिनुभयो । तर मजदुरी गरेर हुर्काउन नसक्दा अहिले १० जना मात्रै जीवित छन् । यही गाउँकी ४२ वर्षे विन्दुमाया लिम्बूका पनि सात जना छोरा छोरी छन् । वर्षेनि सुत्केरी हुँदा आमा र बच्चा सबैलाई उचित खानपान, हेरचाह र स्याहार पुगेको छैन ।
ज्यामिरे गाउँमा ‘सन्तान भगवान्ले दिने हुन्, दिएजति हात थाप्नुपर्छ’ भन्ने अन्धविश्वास अझै हट्न सकेको छैन । २३ घर लिम्बु परिवार बसोबास गर्ने यो गाउमाँ गरिबी र चेतनाको अभावले सन्तान उत्पादनदर उच्च छ । मजदुरी गरेर पेट पाल्नुपर्ने परिवारमा धेरै सन्तान भएपछि बाबुआमाले केटा केटीलाई विद्यालय पु¥याउन त सम्भव नहुने गरेको भीमकुमारीले बताउनुभयो ।
गाउँ नजिकै स्कुल भएपनि यहाँका केटा–केटीहरु नियमित रुपमा नजाने जाँदैनन् । नानीहरुलाई विद्यालय पठाउन घरको अवस्थाले समेत नसक्ने अवस्थामा पु¥याएको उहाँको भनाइ छ । दश सन्तानकी आमा भीमकुमारीलाई पनि छोरा छोरीलाई विद्यालय पठाएर ठुलो मान्छे बनाउन मन छ । तर दिनभर मजदुरी नगरी घर नचल्ने भएकाले नानीहरुलाई विद्यालय पठाउन आफैँले समय दिन सकेकी छैनन् ।
‘घरबाट स्कुल पु¥याउन भ्याइदैन, जान त जान्छन्, तर कहिले पुग्छन्, कहिले बाटैबाट फिरेर आउँछन्,’ भीमकुमारीले भन्नुभयो । ज्यामिरे बस्तीबाट विद्यालय पुग्न बढीमा पन्ध्र मिनेट मात्रै लाग्छ । तर अहिलेसम्म यो गाउँका एक जनाले पनि एसएलसी उत्तीर्ण नगरेका स्थानीयबासी होम पारघरीले बताउनुभयो ।
‘स्कुल त नजिकै छ, तर कक्षा–८ भन्दा माथि पढ्ने खासै छैनन, अझ एसएलसी पास गर्ने त कोही पनि छैन,’ उहाँले भन्नुभयोे । ज्यामिरे गाउँमा १७ वर्ष नकट्दै विहे गर्ने, पाँच भन्दा बढी सन्तान जन्माउने, दिउँसै मादक पदार्थ सेवन गरेर बस्ने, झैझगडा गर्ने जस्ता गतिविधि नियमित हुने गरेका उहाँले बताउनुभयो ।
जिल्लाकै अन्य गाउँहरुमा सूचना प्रविधि र विकासले गति लिइरहँदा ज्यामिरे गाउँमा अशिक्षा र गरिबीले निरन्तर जरा गाडिरहेको छ । यो बस्तीको समस्याका विषयमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
ज्यामिरे गाउँको समस्या समाधानका लागि गाउँपालिकाले लक्षित वर्गको बजेटबाट कार्यक्रम सन्चालन गर्ने छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो । ‘गाउँपालिकाले लक्षित वर्गका लागि चालु आर्थिक वर्षमा ९० लाख रुपैयाँ विनियोजन गरेको छ, अब त्यही बजेटबा ज्यामिरेको समस्या समाधानको पहल हुन्छ,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाले जन्मदर्ता, विवाहदर्ता लगायत पन्जीकरण र अन्य सेवाबारे अभियानै सन्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । गरिब र असहायहरुलाई गाँस बास तथा बालबालिकालाई निःशुल्क पढ्न पाउने व्यवस्थाका लागि आफुले व्यवस्था गर्ने अध्यक्ष तिगेलाले बताउनुभयो । गरिबी र अशिक्षाको अन्धकारमा रुमलिएको ज्यामिरे बस्तीको अनुहार फेर्न गाउँपालिकाले सार्थक पहल चाल्नुपर्ने आवश्यक रहेको पन्चकन्याका मनकुमार लिम्बुले बताउनुभयो ।