काठमाडौं, जेठ ८ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिएको छ ।
कांग्रेसले संघीय संसदमा त्यसबारे आवाज उठाउने जनाएको छ । नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम पुरानै शैली र केन्द्रीकृत प्रणालीको सपना बाँड्ने योजनाको पुलिन्दा मात्रै भएको र त्यसबारे संसदमा आवाज उठाउने निर्णय गरेको हो ।
कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको तथा एक वर्षभित्र कुन–कुन क्षेत्रमा के कति उपलब्धि हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप लगाएको छ ।
कांग्रेस संसदीय दलको बैठकले मुलुक संघीय संरचनामा रहे पनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभूति दिन नसकेको तथा पहिलेका सरकारको जस्तै केन्द्रीकृत नीति अवलम्बन गरिएको ठहर कांग्रेसले गरेको छ । सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरेर एकलौटी रुपमाअघि बढेको टिप्पणी कांग्रेसले गरेको छ ।
सरकारको नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गदर्शन गरी हातेमालो गर्दै अघि बढ्नुपर्ने भए पनि त्यो नभई घोषणपत्रमा मात्र सीमित भएकाले नागरिकको विकास र समृद्धिको सपना साकार पार्न आफूहरुले संसदमा सशक्त आवाज उठाउने निर्णय पनि कांग्रेसले गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सरकारले नियोजित रुपमा नै राष्ट्रियसभा र प्रतिनिधिसभाको अपमान गरेको ठहर पनि कांग्रेसले गरेको छ ।
सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।