मोरङ, जेठ ८ – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका २८ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
सुन तस्करी र सुन तस्करीमा भरिया बनाइएका सनम शाक्यको हत्या प्रकरणमा पक्राउ परेका दुई जना भने रिहा भएका छन् । न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशले प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीका चालक विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मरबहादुर थापा मगरलाई साधारण तारेखमा छाडिएको छ ।
आजै मात्र काठमाडौंबाट सुन तस्करीका मुख्य नाइके भनिएका गोरे भनिने चुडामणि उप्रेतीलाई पक्राउ गरिएको थियो । यसअघि गोरेसहित मुद्दा चलाइएका ६३ जनाको थुनछेक बहस सकिएको थियो । बहस सकेर आदेश लेखिसकिएकोले गोरेलाई मंगलबार हाजिर गराउने र आदेशका लागि भोलिदेखि थुनछेक बहस हुने जनाइएको छ ।