सल्यान, जेठ ८ – सल्यानमा पशुलाई सुत्केरी भत्ता दिन सुरु गरिएको छ ।

सल्यानको शारदा नगरपालिकाभित्रका पशुलाई सुत्केरी भत्ता दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख सुरेश अधिकारीले आफू नगर प्रमुख चुनिएपछि नगरपालिकामा व्यवसायिक रुपमा क्रियाकलाप सञ्चालन गर्न र यहाँको कृषि क्षेत्रलाई व्यवसायिक रुपमै अगाडि बढाउने उद्देश्यले पशुलाई सुत्केरी भत्ता दिन सुरु गरिएको बताउनुभयो ।

नगरभित्रका किसानहरुले परम्परागत कृषि प्रणालीबाट सोचे जस्तो फाइदा लिन नसकेको बताउँदै उहाँले भन्नुभयो, ‘यहाँका किसानहरुलाई व्यवसायिक कृषितर्पm अग्रसर गराउने उद्देश्यले जिल्लामै नमुनाको रुपमा यस्तो कामको सुरुवात गरेको हौं ।’

‘नगर भित्रका किसानले पाल्दै आएका गाई भैंसीको नस्ल सुधारका लागि पशुहरुमा कृत्रिम गर्भाधान गराएर त्यो पशु सुत्केरी भएमा केही रकम दियौं भने कम्तिमा त्यो किसानलाई  पशु पाल्नको लागि सहयोग हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयो ।

यसरी कृत्रिम गर्भाधान गरेका गाई भैंसी सुत्केरी हुँदा बाछाबाछी र पाडापाडीको स्याहार गरे वापत त्यस्ता किसानलाई २ हजार ५ सयका दरले नगरपालिकाले सुत्केरी भत्ता दिने गरेको छ । यस आर्थिक वर्ष ०७४/०७५ मा नगरपालिकाले सुरुको चरणमा २५ वटा पशुलाई कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएकोमा अहिलेसम्म १४ वटा पशुलाई कृतिम गर्भाधान गराएको नगरपालिकाका पशु स्वास्थ्य शाखाका नायब प्राविधिक मधुसुदन उपाध्यायले बताउनुभयो । उहाँका अनुसार १० जना किसानलाई पशुलाई कृत्रिम गर्भाधान गराएर सुत्केरी गराए बापत जनही २ हजार ५ सयका दरले रकम भुक्तानी दिइसकिएको छ ।

यसरी कृत्रिम गर्भाधान गराउँदा नाता प्रजनन पनि नहुने र नस्ल सुधार हुँदा पशुधनीले मनग्य आम्दनी लिन सक्ने उहाँको भनाई छ । यस्तै नगरपािलकाले नगर भित्र बाख्रा पालन गर्ने किसानहरुका लागि नस्ल सुधार कार्यक्रम पनि सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया