भक्तपुर, जेठ ७ – गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना गर्ने बताउनु भएको छ ।

भक्तपुरमा सोमबार आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउनुभयो । अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उहाँको भनाई थियो ।

देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउनुभयो । मुलुक भ्रष्ट्राचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने उहाँको भनाई थियो ।

उहाँले जनयुद्धका शहीद तथा वेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवादउन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दावी गर्नुभयो ।

बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिवद्ध रहेको चर्चा गर्नुभयो । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमिदोहन मौलाएको भन्दै अवैध बालुवा उत्खनन्लाई रोक्न उहाँले भक्तपुरका प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो ।

जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारवाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया