काठमाडौं,  । देशका युवालाई उच्च शिक्षा दिने त्रिभुवन विश्वविद्यालय भ्रष्टाचारको दलदलमा फसेको छ । त्रिवि प्रशासनले वषौंदेखि आर्थिक अनियमितता गर्दै यस्ता शीर्षकमा भएको खर्चको लेखापरिक्षणसमेत नगराएको भेटिएपछि त्रिविमा हुँदै आएको ब्रम्हलुटको पर्दाफास भएको हो ।

त्रिविले विभिन्न शीर्षक खर्च देखाउँदै आएको तर, खर्चको परिणाम नभेटिएपछि अख्तियारले छानबिन सुरु गरेको छ । अख्तियार स्रोतका अनुसार त्रिविले २०३३ सालदेखि खर्च भएका धेरैजसो शीर्षकमा लेखापरिक्षण नगराएको भेटिएको छ ।

विश्वविद्यालय अनुदान आयोगले त्रिविलाई चालू आर्थिक वर्षका लागि दिएको ६ अर्ब ४१ करोड १७ लाख रकम हिनामिना भएको अख्तियार स्रोतको भनाइ छ । अनुदान आयोगले पुँजीगत खर्चका लागि दिएको १ अर्ब ६ करोड ९४ लाखसहित ७ अर्ब ४८ करोड १२ लाख रकमको हिसाब गायब भएको छ ।

यो चालु वर्षको मात्रै आर्थिक अनियमिता हो । अख्तियारले त्रिविमा भएको आर्थिक अनियमितताको छानविन नसकिएसम्म कुनै रकम उपलब्ध नगराउन विश्वविद्यालय अनुदान आयोगलाई पत्राचार गरेको बताइएको छ ।

अनुदान आयोगले लेखापरिक्षण नगराउने इकाइलाई अनुदान दिन नमिल्ने अवस्थामा समेत कमिसनको मिलेमतोमा रकम दिएको अख्तियारको ठहर छ । सरकारका तर्फबाट शिक्षा मन्त्रालयअन्तर्गत विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारी अनुदान विश्वविद्यालयलाई उपलब्ध हुने गर्दछ ।

यसमा शिक्षा मन्त्रालयका कर्मचारीको समेत संलग्नता पाइएको छ । समयमै आन्तरिक लेखा परिक्षण कार्य सम्पन्न नगरेका कारण केन्द्रीय कार्यालय, शिक्षण अस्पतालसहित ४४ वटा निकायको अन्तिम लेखा परिक्षण हुनसमेत सकेको छैन ।

त्रिवि शिक्षण अस्पतालमा समेत यस्तो रकम दुरुपयोग भएको पाइएको अख्तियारले जनाएको छ । त्रिवि सञ्चय कोष अन्तर्गतको रकममा समेत भ्रष्टाचार भएको भन्दै अख्तियार २०४० सालदेखिको विवरण खोज्न सुरु गरेको छ ।

त्रिवि सञ्चय कोषअन्तर्गतको कर्मचारी सञ्चय कोषमा ५ अर्ब १९ करोड ६० लाख स्थानान्तरण गरी आर्थिक कारोबार बन्द गरेको भेटिएको छ ।

विश्वविद्यालयको नाममा छुट्टै विश्वविद्यालय कोष रहने व्यवस्था भए पनि विश्वविद्यालय अनुदान आयोगबाट सात वटा निकायमा निकासा भएको ११ करोड ७७ लाख ७० हजार सिधै खर्च गरेको पाइएको अख्तियारले जनाएको छ ।

विश्वविद्यालय र अन्तर्गतका निकायहरुमा हुने अन्य आम्दानीको १० प्रतिशत रकम विश्वविद्यालय कोषमा जम्मा गर्नुपर्नेमा १ अर्ब ५० करोड १२ लाख र अन्य आम्दानीको १० प्रतिशतले हुने १५ करोड १ लाख २७ हजार कोषमा जम्मा नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

यसअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले शोधकार्यबापत विद्यार्थीहरुबाट प्राप्त ३० लाख ८४ हजार बराबरको हिसास गायब बनाएको छ । व्यवस्थापन संकाय डिनको कार्यालयले समेत परिक्षाबाट प्राप्त मोटो रकम परिक्षा सञ्चालन कोषमा जम्मा नगरी भ्रष्टाचार गरेको अख्तियार स्रोतको भनाइ छ ।

स्रोतका अनुसार त्रिविका ७६ निकायमा कर्मचारीले ३ करोड ३६ लाख ७१ हजार अन्य बापतको रकममा अनियमितता भएको छ । त्रिविले तलब र भत्ताबापत स्वीकृत बजेटभन्दा ४७ करोड ६१ लख ९ हजार बढी खर्च गरेको छ ।

मानविकी डिनको कार्यालय, जनसंख्या केन्द्रीय विभाग, शिक्षण अस्पताल, रत्न राज्यलक्ष्मी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पसलगायत पाँच निकायको २८ करोड ३८ लाख ६३ हजार बैंकमा दाखिला हुनुपर्नेमा सो नगरी आधाभन्दा कम रकम मात्र बैंकमा देखाइएको छ ।

यस्तै अर्थशास्त्र केन्द्रीय विभाग, थापाथली इन्जिनियरिङ क्यमम्पसलगायत ६३ वटा निकायको ३ अर्ब ५८ करोड ६१ लख ४८ हजार पनि बैंक मौज्दातमा नभेटिएको बताइएको छ । स्रोतका अनुसार ठेक्कालगायतको भुक्तानीमा करकट्टी नगरी १ करोड ४३ लाख ५८ हजार भुक्तानी भएको पाइएको छ ।

त्रिविले सेवा आयोगबाट पदपूर्तिको प्रक्रिया अगाडि नबढाई शिक्षक करारमा भर्ना गरी २२ करोड ५४ लाख २९ हजार तलबभत्ता खर्च गरेको पाइएको छ भने दरबन्दी निर्धारण गरिएको छैन, देशान्तरमा उल्लेख छ ।

अख्तियारले परिक्षा फाराम भरेका परिक्षार्थी संख्याको आधारमा प्रश्नपत्र छपाइ गर्नुपर्नेमा सो नगरी ६ लाख ६४ हजार १९३ परिक्षार्थीका लागि ५४ लाख ५१ हजार एक सय प्रश्नपत्र छपाइ गरी अनियमितता गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया