सङ्खुवासभा, जेठ ६ गते । नेपाली अलैँचीको प्रशोधन प्रविधि र गुणस्तर पछिल्लो समय चर्चाको विषय बनेको छ । कृषकले उत्पादन र प्रशोधन गरेको अलैँचीमा गुणस्तर कम भएको व्यवसायीहरू बताउँदै आएको छन् । अलैँचीको गुणस्तरका लागि अलैँचीलाई आधुनिक भट्टीमा सुकाउन किसानलाई सुझाउने गरेका छन् ।
तर, अलैँचीका सरोकारवाला –हरूले जति धेरै सल्लाह दिए पनि कृषकले भने परम्परागत भट्टी छोड्न सकेका छैनन् । लामो समय लगाएर आधुनिक भट्टीमा सुकाए पनि सो अनुसारको मूल्य नपाएपछि किसानहरूले छरितो हुने परम्परागत भट्टीमा नै सुकाउन थालेका छन् । मकालु गाउँपालिका५ नुमका कृषक हर्कजित राईले दुई बर्षअघि आधुनिक भट्टीबाट सुकाएको अलैँचीको मूल्य र परम्परागत तरिकाबाट सुकाएको अलैँचीको मूल्य उस्तै भएकोले अहिले पुरानै भट्टीमा फर्किएको बताउनुभयो ।
आधुनिक भट्टीमा सुकाउँदा धुवाँ कम लाग्ने र राम्रो रङको अलैँची निस्के पनि सुक्न लामो समय लाग्ने अलैँची कृषक राईले बताउनुभयो । परम्परागत भट्टीमा सुकाउँदा करिब ३६ घण्टामा सुक्ने अलैँची आधुनिक भट्टीबाट सुक्न करिब एक हप्ता लागेको अनुभव उहाँले सुनाउनुभयो । लामो समय लगाएर सुकाएको राम्रो अलैँचीको मूल्य पनि अन्यको जस्तै भएकोले उहाँका छिमेकीले पनि परम्परागत भट्टीबाटै सुकाउने गरेको जानकारी दिनुभयो ।
जिल्लाको मकालु गाउँपालिकामा मात्र नभएर अन्य स्थानका कृषकले पनि पुरानै शैलीको भट्टीमा अलैँची सुकाउने गरेका छन् । मूल्य उस्तै भएकोले किसानहरूले पुरानै शैली छोड्न नसकेको किसानहरू बताउँछन् । मिहिनेत लगाएर अलैँची सुकाएर पनि त्यही अनुसारको दाम पाए सोही अनुसार सुकाउन तयार रहेको शिलिचोङ गाउँपालिका ३ ताम्कुका कृषक तुलाबहादुर कुलुङले बताउनुभयो । मैले आधुनिक भट्टीमा सुकाएर लगेको पनि अरू भट्टीमा सुकाएकोसँगै मिसाएर शत्यही दाम दियो, कृषक कुलुङले भन्नुभयो, आखिर जस्तो अलैँची भए पनि दाम त उस्तै त रहेछ नि । अलैँची व्यापारीहरूले मिहिनेतको दाम दिए आधुनिक भट्टीमा किन नसुकाउने ?, उहाँले थप्नुभयो ।
पछिल्लो समय सङ्खुवासभामा गुणस्तरसम्बन्धी कम ज्ञान भएका बिचौलियाले अलैँची सङ्कलन गर्ने गरेका छन् । कृषकहरूको अलैँची वास्तविक व्यापारीसम्म प्रत्यक्ष पु¥याउन नसक्दा गुणस्तरयुक्त अलैँचीले पनि दाम पाइरहेका छैन । गुणस्तरयुक्त सामानले बढी मूल्य पाउनु पर्छ भन्ने बारेमा किसानहरूले प्रतिवाद गर्न नसक्दा बिचौलियाले भनेकै दाममा अलैँची बिक्री गरिरहेका छन् ।
अलैँची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठले राम्रो गुणस्तरको अलैँचीलाई केही हदसम्म राम्रो मूल्य दिने गरेको बताउनुभयो । धुवाँरहित रातो रङको अलैँचीलाई तीनदेखि चार हजार रुपियाँसम्म मूल्य बढाएर किसानलाई दिने गरेको उहाँले बताउनुभयो तर स्थानीय व्यापारीहरूले गुणस्तरको अलैँचीलाई पनि उस्तै दाम दिने गरेकोले किसानहरू आधुनिक भट्टी प्रयोगमा भड्किएको स्वीकार्नुभयो ।
राम्रोसँग सुकेको र आधुनिक भट्टीमा सुकाइएको अलैँचीले सोही अनुसारको दाम पाउनु पर्नेमा अलैँची व्यवसायी महासङ्घ पनि लागिपरेको उहाँले बताउनुभयो । कतिपय किसानहरूले तौल बढाउने बहानामा सुकेको अलैँचीमा पानी छर्कने र ओसिलो ठाउँमा राख्ने हुँदा जति भएको गुणस्तर पनि खस्किने गरेको श्रेष्ठको भनाइ छ । गुणस्तर कायम नभएपछि तुलनात्मक रूपमा स्वतः मूल्य घट्ने उहाँले बताउनुभयो ।
अलैँची सङ्खुवासभाको प्रमुख नगदेबाली हो । उत्पादनका हिसाबले सङ्खुवासभा पहिलो रहेको दाबी गर्दै आएका छन् । जिल्लामा दुई हजार ७९० हेक्टर क्षेत्रफलमा अलैँची खेती लगाइएको छ । सङ्खुवासभामा आर्थिक वर्ष २०७५÷७६ देखि अलैँचीको जोन क्षेत्रको कार्यक्रम लागू हुँदैछ ।