नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १ सय ३२ केभी प्रसारणलाइन आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन र प्रसारणलाइनको निरीक्षण गरेको थियो । टोलीले शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका हुन् ।
यसअघि प्राधिकरणले प्रसारणलाइन निर्माणमा ढिलाइ हुँदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न नसकी खेर जाने अवस्था आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समस्या समाधन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि घिसिङ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, ग्रिड विभागका निर्देशक रञ्जन चालिसे र विद्युत् व्यापार प्रमुख प्रबल अधिकारीको टोली निजी प्रसारणलाइन तथा सबस्टेसन र त्यस क्षेत्रका जलविद्युत् आयोजनाको निर्माण अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको हो ।
प्रसारणलाइन पूरा नभए हर्जाना
अहिले सोलु खोलामा निजी क्षेत्रका २ सय १७ दशमलव ५ मेगावाटका ६ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३ दशमलव ५ मेगावाटको माथिल्लो सोलु आयोजना अन्तिम चरणमा छन् । प्रसारणलाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पिपिए)मा छ । प्रसारणलाइन तथा सबस्टेसन तोकिएको समयमा बनाउन नसकेर विद्युत् खेर जाने अवस्था सिर्जना भएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नुपर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्ने कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीलाई चेतावनी दिए ।
सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य छ । तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिरहा) ९० किलोमिटर प्रसारणलाइन आयोजनाले ३ सय ३ टावर निर्माण गर्नुपर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको र पाँचवटा खडा गरिएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले जानकारी दिए ।
वैकल्पिक व्यवस्थापनको तयारी
प्राधिकरणले सोलु करिडोर निर्माणमा ढिलाइ हुने देखेपछि माथिल्लो सोलुको विद्युत् जोड्न अस्थायी वैकल्पिक व्यवस्थाका रूपमा ओखलढुंगाबाट ३३ केभी प्रसारणलाइन निर्माण र तिंलामा ३३÷११ केभीको सबस्टेसन बनाइरहेको छ ।
यो काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘२३ दशमलव ५ मेगावाटको सोलु आयोजनाको डिसेम्बरभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ । तर, स्थलगत निरीक्षणबाट आयोजनालाई काम सक्न अझै एक वर्ष लाग्ने देखिएको छ ।’ उनले भने, ‘ठेकेदारले सबस्टेसननको काम डिसेम्बर २०१८ भित्र सक्ने प्रतिबद्धता जनाइसकेको छ, त्यसैले माथिल्लो सोलुको विद्युत् जोड्न समस्या हुँदैन ।’ विद्युत्गृह तयार भएको छ, तर त्यसमा रहने इलेक्ट्रोमेकानिकल उपकरण अझै आयोजनास्थलमा पु¥याइएको छैन । उपकरण जडानमा समय लाग्छ । स्विजयार्ड र करिब ४ किलोमिटर प्रसारणलाइनको निर्माण आयोजनाले अझै सुरु गरेको छैन ।
६ महिनाभित्रमा सोलुमा राष्ट्रिय ग्रिड
प्राधिकरणले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारणलाइन पु-याउने भएको छ । अहिले ओखलढुंगासम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । प्राधिकरणले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारणलाइन तानिरहेको छ । अहिले सल्लेरी च्याल्सा माइक्रो हाइड्रोपावरमार्फत सल्लेरीमा विद्युत् आपूर्ति गरिएको छ ।
कामदार थप गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धता
ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सबस्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ । अहिले सबस्टेसन निर्माणमा ४२ जना मात्रै कामदार खटिएका छन् । ठेकेदार कम्पनीले एक हप्ताभित्रमा कामदार संख्या थप गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झन्डै दुई वर्ष ढिला सुरु भएको थियो । टोलीले तल्लो सोलु र माथिल्लो सोलु आयोजनाको पनि स्थलगत निरीक्षण गरेको छ । तल्लो सोलुको निर्माण प्रगति विविध क्षेत्रमा ५० र ८५ प्रतिशत रहेको आयोजनाहरूले जनाएका छन् ।
नयाँ पत्रिका दैनिकबाट ।