काठमाडौं, जेठ ७ – सिट संख्या भन्दा बढी यात्रु कोचेर हिँड्ने सार्वजनिक गाडी धमाधम कारबाहीमा पर्न थालेका छन् ।
महानगरीय ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने गाडीलाई कारबाही अभियान चलाएको हो । अभियानको क्रममा पछिल्लो २४ घण्टामा २३३ गाडी कारबाहीमा परेका छन् । महाशाखाका अनुसार १९१ जना माईक्रोबस चालक र १९ जना टेम्पु चालक कारवाही परेका हुन् ।
यस्तै मिटर जडान भए पनि प्रिन्टर नराखेका ११ र मिटरमा हिँड्न नमान्ने १२ जना ट्याक्सी चालक पनि कारबाहीमा परेका छन् । आज पनि विहानैदेखि नियम नमान्ने गाडीलाई कारबाही भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयले क्षमताभन्दा बढी यात्रु राख्नेलाई कारबाही गर्न निर्देशन दिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइका साथ अभियान चलाएको हो ।