तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङको सिकिदिममा भाइरल फिभरको महामारी फैलिएको छ । गाउँका अधिकांश बच्चा, विद्यार्थी र वयस्कहरु नै रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने र घाँटी दुख्ने समस्याबाट ग्रस्त छन् । गाउँका दुई सय बढी बच्चा, युवा र वयस्कहरु एक साथ बिरामी परेका छन् ।

महामारी फैलिएपछि वडा कार्यालयको संयोजनमा शुक्रबारदेखि स्वास्थ्यकर्मीहरुको टोलीले सिकिदिममै रहेर स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको छ । गर्मी बढेसँगै निरन्तर भइरहेको वर्षा र फोहोर पानीका कारण भाइरल फिभरको प्रकोप फैलिएको मेन्छ्यायेम गाउँपालिका–६ का वडाध्यक्ष प्रदीप बुढाथोकीले बताउनुभयो ।

‘गाउँका सबै विरामी छन् भन्ने थाहा पाएपछि हामी जनप्रतिनिधि समेत गएर औषधी र उपचारको प्रबन्ध गरेका छौँ, विद्यार्थी विरामी भएपछि स्कुलहरुको पठन पाठन समेत हुन सकेको छैन,’ उहाँले भन्नुभयो । उहाँले विरामी भएकाहरुलाई केही दिन विद्यालय नपठाउन र खानपानमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ ।

महामारी नियन्त्रणका लागि औषधी र स्वास्थ्यकर्मीको टोली परिचालन भइसकेको मोराहाङ स्वास्थ्य चौकीका इन्चार्ज समीम अन्सारीेले बताउनुभयो । सिकिदिममा सिद्धेश्वर मावि र एउटा बोर्डिङ स्कुल रहेको छ । एक चरण सबैको स्वास्थ्य परीक्षण गरी औषधी दिइएको र त्यसलाई अरु फैलिन नदिन आग्रह गरिसकिएकाले महामारी छिट्टै नियन्त्रणमा आउन सक्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया