– लक्ष्मण कार्की

काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका कान्छो पुस्ताका नेताहरुले कम्युनिष्ट एकताले आफ्नो पार्टीलाई पनि रुपान्तरणको अवसर ल्याइदिएको टिप्पणी गरेका छन् ।

प्रतिस्पर्धी पार्टी बलियो भएकाले कांग्रेसलाई संकट आइपर्ने हो कि जस्तो एकातिर देखिए पनि यसले बलियो पार्टीसँग टक्कर गर्न आफूहरुलाई पनि बलियो बनाउनैपर्ने भएकाले कांग्रेसलाई सुधार्ने उत्तम अवसर पनि भएको उनीहरुको भनाई छ ।

उज्यालो अनलाइनसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा तथा नेताहरु सदस्य गगन थापा र धनराज गुरुङ्गले एउटै कम्युनष्टि पार्टी बन्नु कांग्रेसको आन्तरिक जीवनका लागि एक हिसाबले चुनौती र अर्को हिसाबले अवसर भएको बताउनुभएको हो । यो अवसरलाई खेर फाले पछुताउनुको विकल्प नहुने उहाँहरुको भनाई छ ।

रुपान्तरणका लागि लाखेपखे अब चल्दैन

कांग्रेस अब लाखेपखे वा भोलि गरौँला भन्ने पाराले नचल्ने कुराको बहस चलेको धेरै भयो । पार्टीको नयाँ पुस्ताले यो विषयमा नेतृत्वलाई घच्घच्याइरहेपनि नेतृत्वले त्यसलाई सुनेको नसुन्यै गर्नाले पार्टी धेरै अर्थमा यथास्थितविादी बनेको युवा पुस्ताका नेताहरु स्वीकार्छन् । पछिल्लो समय कांग्रेस नयाँ विचार र मन्थनमा भन्दा पनि अरु दलका विचारमा टिप्पणीकारको जस्तो भूमिकामा रहेको भनेर मनग्ये आलोचना हुने गरेको छ ।

कम्युनिष्ट पार्टीको एकताले कांग्रेसलाई अब दुई हिसावले सकारात्मक दबाब दिने प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ । ‘यसले एकातिर साातातिना कुरा भुलेर थप एकताबद्ध हुन दबाब दिनेछ’, शर्माले भन्नुभयो अर्कोतिर पार्टीभित्र पहिल्यैदेखि उठाइएको रुपान्तरणको सन्दर्भ अब थप घनिभूत हुनेछ ।’

एमाले र माआवादी नमिले पनि कांग्रेसभित्र रुपान्तरण जरुरी छ भन्ने वहस बाम दलको एकताको सन्दर्भ भन्दा पनि पुरानो हो तर अब भने त्यो रुपान्तरणका लागि उपयुक्त मौका नै आएको अर्थमा आफूले लिएको तीनैजना नेताले स्वीकारे ।

कांग्रेस नेता गगन थापाले अबको अवस्था कांग्रेस रुपान्तरणको इमर्जेन्सीकाल जस्तै भएको बताउनुभयो । ‘नेतृत्वले यसअघि पनि रुपान्तरण र पार्टीलाई समय सापेक्ष बनाउँ भन्ने कुरा सुनेन तर अब भने यो सुन्नैपर्ने भएको छ’, थापाले भन्नुभयो यो अवस्था एक हिसाबले हेर्दा रुपान्तरणका लागि  इमर्जेन्सीकाल जस्तै हो ।’

अर्का नेता धनराज गुरुङ्गले त कांग्रेसलाई पुनर्निर्माण गर्नैपर्ने अहिलेसम्मकै ठूलो दबाब परेको स्वीकार्नुभयो । ‘सम्भवतः यतिको ठूलो दबाब पार्टीलाई कहिल्यै परेको थिएन‘, उहाँले भन्नुभयो, त्यसैले नेतृत्वले अब पनि नचेतेर सुखै छैन ।’

गुट व्यवस्थापन मुख्य कुरा

पार्टीभित्रको गुट कांग्रेसको पूरानो रोग हो । नेताहरु यसलाई लोकतान्त्रिक पार्टीभित्रको जीवन्तता भनेर पनि ब्याख्या गर्छन् । तर कांग्रेसभित्र गुटको कुरा पार्टीलाई भित्रभित्रै ध्वस्त बनाउने धमिरो बनेको विश्लेषकहरुको भनाई छ । कांग्रेसका युवा नेताहरुले पनि पार्टीमा फरक विचार हुनु स्वभाविक भएपनि त्यसलाई गुटको रुपमा गर्ने गरिएको मलजल अब बन्द हुनुपर्ने बताउँछन् ।

फरक-फरक विचार सिद्धान्त र पृष्ठभूमिमा जन्मेका पार्टी त एक भए भने एउटै दलभित्रको गुट उपगुट अन्त्य हुन नसक्ने कुरा हावादारी हो भन्ने कुरा कम्युनिष्ट पार्टीको एकताले पुष्टि गरेको नेताहरुको भनाई छ । अहिलेसम्म गुटको मात्र फेरो समाउने र पार्टीलाई भन्दा गुटलाई मात्र पालनपोषण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने तीनैजना नेताहरुले स्वीकारे ।

इतिहास उद्धरण गरेर मात्र अब हुँदैन

कांग्रेसका सबैजसो नेता आफ्ना भाषण र लेखमा बीपी कोइरालाको नाम छुटाउँदैनन् । बीपीले भनेको प्रजातान्त्रिक समाजवाद अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको उनीहरुको दाबी हुन्छ । तर, फेरिंदो समय, आर्थिक सामाजिक परिवेशको उपयोगिता अहिलेको सन्दर्भमा कसरी हुन्छ भन्ने कुराको ब्याख्या कांग्रेसका थोरै मात्र नेताले गर्न सक्छन् । कांग्रेस नेता तथा पूर्व मन्त्री गगन थापा अब इतिहासको मात्र रटान लगाएर नहुने बताउनुहुन्छ ।

‘अब विपीले यो भन्नुभएको र त्यो भन्नुभएको छ मात्र भनेर पुग्दैन, अब कांग्रेसले देशलाई कति वर्षमा कहाँ पुर्याउने हो भन्नुपर्यो, यहाँ पुर्याउँछु भनेर मात्र पनि हुँदैन कसरी पुर्याउने भन्ने स्पष्ट खाका पनि ल्याउन सक्नुपर्यो’ उहाँ भन्नुहुन्छ ।

पार्टीलाई समय सापेक्ष बनाउन नसके त्यसको फाइदा अर्काले लिने रहेछ भन्ने प्रमाण यसपटकको चुनावले पनि दिइसकेकाले अब चेत्नुपर्ने अर्का नेता धनराज गुरुङले बताउनुभयो ।

आचरणको शुद्धीकरण सबैभन्दा मुख्य कुरा भएको उहाँको भनाई छ । ‘विगतमा अनेकौ काण्डैकाण्डले पार्टीको मात्र होइन समग्र शासन व्यवस्थाकै बेइज्जती भयो, अब आचरण शुद्धिकरण पनि पार्टीका लागि महत्वपूर्ण कुरा हो’, गुरुङ्गले भन्नुभयो, ‘नेता त कांग्रेसका जस्ता पो हुनुपर्छ त भन्ने खालको अवस्था बनाउन सक्नुपर्यो, अनि बल्ल बढ्छ आकर्षण ।’

नयाँ दलको परिचय बजेटमार्फत

सरकारको नीति तथा कार्यक्रम आउनै लागेका बेला एमाले र माओवादी एक भएपछि अब कस्तो नीति तथा कार्यक्रम आउँछ त भन्ने कुरा स्वभाविक चासोको विषय बनेको छ । कांग्रेस नेताहरु एमाले माओवादी लगायत दलको नेतृत्वमा बनेका सरकारले कांग्रेसले नै अपनाएको अर्थव्यवस्थामा फूलबुट्टा मात्र भर्ने गरेको आरोप लगाउँछन् ।

कांग्रेस प्रवक्ता शर्मा अबको सरकारले ल्याउने बजेटले नयाँ दल कति समाजवादी, कति पूँजीवादी र कति उदारवादी छ भन्ने झल्को दिने बताउनुहुन्छ । ‘उहाँहरु अहिलेसम्म कांग्रेसले बोकेकै अर्थव्यवस्थाको खाकाको वरिपरि रहँदै आउनुभयो’ शर्माको जिकीर छ, ‘यो सरकार कम्युनिष्ट बहुमतको भएकाले कस्तो बजेट तथा कस्ता नीति तथा कार्यक्रम ल्याउँछ भन्नेले नयाँ दलका धेरै नारा र उसको अबको आर्थिक रणनीति स्पष्ट पार्नेछ ।’

‘नेपालका कम्युनिष्टलाई कम्युनिष्ट जस्तो पनि र कम्युनिष्ट विरोधी जस्तो पनि हुन पाउने अधिकार थियो’ नेता गगन थापाले भन्नुभयो, ‘एउटा सरकारले सरकारमा रहेर बजेट बनाउने र अर्को कम्युनिष्ट पार्टीले विपक्षमा रहेर विरोध गरिरहन पाउँथ्यो अब त्यो सुविधा उहाँहरुलाई हुँदैन ।’ त्यसैले अब नयाँ दल धेरै अर्थमा परीक्षणमा रहने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया