तेह्रथुम । धनकुटाको सिधुवादेखि तेह्रथुमको छथर गाउँपालिका जोड्ने नौ किलोमिटर दुरीको सडक निर्माणमा ठेकेदार कम्पनीले काम नगरेपछि अब उपभोक्ता समिति मार्फत नै स्तरोन्नतिको काम हुने भएको छ । उक्त सडक निर्माणका लागि चार वर्ष अघि उन्नति परियोजनाले जिल्ला विकास समितिमार्फत ठेक्का लगाएको थियो ।
साढे तीन करोड रुपैयाँ बढी लगानीमा सडक निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सनले पटक–पटक म्याद थप गर्दा समेत काम सम्पन्न नगरेपछि बहिर्गमन हुने बेलामा उन्नति परियोजनाले गाउँपालिका मार्फत उपभोक्ता समितिहरु गठन गराई काम गर्न सहमति दिएको हो । विहीबार मात्र उक्त सडक उपभोक्ता समितिमार्फत स्तरोन्नति गर्नका लागि सहमति भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो ।
छथर गाउँपालिकाको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको उक्त सडक निर्माणमा ढिलाई हुँदा गाउँपालिकाका बासिन्दाले सास्ती बेहोर्दै आएका थिए । अब सो सडकको तीन खण्डमा छुट्टा–छुट्टै उपभोक्ता समितिमार्फत दुई करोड २० लाख रुपैयाँको काम गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।
उहाँले सडक मर्मत गरेर यो वर्षको वर्षायाममै पनि नियमित सवारी सन्चालनका लागि पहल गर्ने बताउनुभएको छ । उन्नति परियोजनाले जिल्लाका ९ वटा कृषि सडकहरुको स्तरोन्नतिका लागि काम गरेकामा अन्य सात वटा सडकहरु यसअघि नै उपभोक्ता समितिमार्फत निर्माण भइरहेका छन् ।