तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा.मुक्तिनारायण शाह सहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको सक्रान्तिबजार पुग्यो । र सोही टोली विहीबार फेदाप गाउँपालिकामा पनि शिविर सन्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपनि रित्तै फर्किएको छ ।
फेदाप गाउँपालिकाको सिम्लेस्थित स्वास्थ्य चौकीमै आयोजना गरिएको पुरुष स्थायी बन्ध्याकरण अर्थात् भ्यासेक्ट्रोमी शिविरमा विहीबार कोही पनि सेवाग्राही आएनन् । सन्तानको रहर पुगेका दम्पत्तीहरु मध्ये पुरुषहरुमा स्थायी बन्ध्याकरणका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर निःशुल्क भ्यासेक्ट्रोमी शिविरको आयोजना गरेको छ । तर शिविरका लागि एक जना पनि सेवाग्राहीहरु भने आएका छैनन् ।
परिवार नियोजनको स्थायी साधन भ्यासेक्ट्रोमी प्रयोग गर्ने पुरुषहरुको संख्या जिल्लामा नगन्य जस्तै रहेको छ । गतवर्ष जिल्लामा १५ जनाले मात्रै भ्यासेक्ट्रोमी लगाएका थिए । शुक्रबार छथर गाउँपालिकाको हमरजुङ स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका फोकल पर्सन राजनारायण शाहले बताउनुभयो । शिविरका लागि लाखौँ रुपैयाँ खर्च भएपनि शिविरबाट लाभ लिनेहरुको संख्या भने नगन्य छ । समाजमा परिवार नियोजनका साधन महिलाले नै प्रयोग गर्नुपर्ने मान्यता नहटेकाले पनि यस्तो समस्या सिर्जना भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।