तेह्रथुम । फेदाप गाउँपालिकाको सिम्ले स्थित पोक्लाबाङ स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघर खस्ने समस्या सम्बन्धी एक दिने शिविर विहीबार सम्पन्न भएको छ । शिविरमा विभिन्न समस्या रहेका ३० जना महिलाहरु लाभान्वित भएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि आएकामध्ये १० जनालाई आङ खस्ने समस्या देखिएपछि रिङ पेसरी लगाइएको छ । यस्तै एक जनामा पाठेघरको क्यान्सर हुनसक्ने सम्भावना देखिएपछि थप परीक्षण र उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ रेफर गरिएको शिविरमा पुग्नुभएका जिल्ला अस्पतालका प्रमुख डा.मुक्तिनारायण शाहले बताउनुभयो ।
बाँकीमध्ये ७ जना महिलाहरुमा पाठेघर सम्बन्धी प्रारम्भिक समस्या देखिएको र परामर्श गरी पठाइएको छ । शिविरमा जिल्ला स्वास्थ्य प्रमुख डा.शाह र जिल्ला अस्पतालकै डा.कृष्णचन्द्र महत सहितको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो ।