काठमाडौं, जेठ ३ – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरण गरिबी र पछ्यौटेपनका विरुद्ध भएको बताउनुभएको छ ।
ओलीले आफूहरुसँग कसैले हल्लाउन र ढाल्न नसक्ने बहुमत भएको र आफूहरुले नै नीति तथा कार्यक्रम बनाएर सुखी र समृद्ध नेपाल बनाउन लाग्नुपर्ने बताउनुभयो । अन्य पार्टीहरुलाई पनि एकीकरणमा सामेल हुन ओलीले आह्वान गर्नुभयो । ‘अब के स–सना पसल थापेर बस्नुहुन्छ’, ओलीले विप्लवलगायतका कम्युनिष्टपार्टीतिर लक्षित गर्दै भन्नुभयो, ‘आउनुहोस एक भएर देश बनाउँ ।’
विप्लवलाई कटाक्ष गर्दै ओलीले भन्नुभयो, ‘यत्रो कम्युनिष्टले जितेको छ । सुतली बम पड्काएर हिँड्छ । हामीले नबुझेको कम्युनिष्ट विचारधारा के बुझ्नुभएको रहेछ ?’
ओलीले देशभक्त लोकतान्त्रिक भावना भएका पार्टीहरुलाई पार्टी एकीकरणको महान अभियानमा सामेल हुन आह्वान गर्नुभयो ।
कांग्रेसप्रति व्यंग्य गर्दै ओलीले भन्नुभयो, ‘एउटा चुनाव हार्दैमा दिशाहीन भयो कांग्रेस, आत्तियो कांग्रेस । कहिले कुन भित्तामा टाउको ठोक्काउँछ, कहिले कुन भित्तामा ।’
ओलीले आफूले कानुनी राज र सुशासनका आधारमा काम गर्ने बताउँदै कांग्रेसलाई आत्तिन आवश्यक नरहेको बताउनुभयो । उहाँले योग्यता, क्षमता र सक्रियताका आधारमा जिम्मेवादी दिने र कुनै भ्रष्टारचारलाई आफूहरुले प्रश्रय नदिने बताउनुभयो ।
पार्टी एकता ऐतिहासिक भएको भन्दै ओलीले भन्नुभयो, ‘नयाँ इतिहासको रचना भयो । अब कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ उचाई लिएको छ ।’ उहाँले पार्टी एकीकरणको बाँकी काम ३ महिनाभित्र सिध्याउने बताउनुभयो ।
ओलीलले आफूहरुले एउटै कम्युनिष्ट शक्ति केन्द्र निर्माण गरेर नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरुप्रति न्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि अहिले पुष्पलाल कमरेड ज्यूँदै भएको भए नाच्नुहुन्थ्यो ।’
उहाँले शीर्ष तहका नेताले मात्र पार्टी अगाडि नबढ्ने र स्थानीय तहका कार्यकर्ताहरुको योगदानको महत्व सम्झाउँदै भन्नुभयो, ‘म ड्राइभरको सिटमा छु, तर गुड्ने ड्राइभर हैन चक्का हो ।’
उहाँले एकताका लागि दुवै पक्षमा नेता र मातहतका कार्यकर्ताको विवेकको नतिजा भएको बताउँदै भन्नुभयो, ‘प्रचण्डले वा मैले नमानेको भए एकता हुन्नथ्यो । एकताको महत्व दुवै पार्टीका कार्यकर्ता पंक्तिले नबुझेको भए पनि एकता हुन्नथ्यो । आज एकताको विपक्षमा कोही छैन । ’
दुई पार्टीमध्ये एक अर्कोमा मिसिएको नभई घोलिएको बताउँदै ओलीले भन्नुभयो, ‘जसरी महासागरमा कोशी र कर्णाली खोजेर भेटिन्न, त्यसैगरी अब को माओवादी थियो वा को एमाले थियो भनेर छुट्याउन सकिन्न ।’
एकताका क्रममा प्रचण्ड र आफूले एकतापछि एक अर्कासँग ठट्टा गरेको बताउदै उहाँले भन्नुभयो, ‘मैले प्रचण्डजीलाई अब तपार्इंको माओवादी केन्द्र सिद्धियो भनेँ । उहाँले मलाई तपाईँको एमाले सिद्धियो भन्नुभयो ।’
एकतापछि कम्युनिष्ट पार्टीसँग एउटै मौका भएको र नमिलिकनै ६ प्रदेश मा सरकार रहेको बताउनुभयो । पार्टीमा दुई अध्यक्षको व्यवस्थाका बारेमा बोल्दै उहाँले जहाजमा पनि २ पाइलट हुँदा चलाउन सहज हुने भएकाले पार्टीमा २ दुइ अध्यक्ष हुनु अनौठो मान्न नहुने बताउनुभयो ।
उहाँले सबै दलहरुलाई एकजुट भएर देश बनाउन, देशलाई समृद्ध बनाउन यो एकताको महाअभियानमा सामेल हुन आग्रह पनि गर्नुभयो । तानाशाही र दमनका निम्ति आफूहरुको एकता आवश्यक भएको नभई देश बनाउन संकल्पलाई शालीनताका साथ निभाउन, भ्रष्टाचार निर्मूल गर्न एकता गरेको बताउनुभयो ।
राष्ट्रहितको पक्षमा छिमेकसँग सुमधुर सम्बन्ध राख्ने, देशलाई अल्पविकसितबाट विकासशीलमा लाने, गरीबी हटाउने पार्टीको उद्देश्य रहेको बताउनुभयो । एकतापछि मातहतका कार्यकर्ताको जिम्मेवारीबारे बोल्दै ओलीेले कार्यकर्ताको योग्यता, क्षमता र सक्रियता हेरेर जिम्मेवारी दिने साथै कार्यसम्पादन र देश विकासमा योग्यलाई जिम्मेवारी दिने पनि बताउनुभयो । उहाँले एकतापछि नेपालको लोकतात्रिक आन्दोलन नयाँ उचाइमा पुगेको बताउनुभयो ।
साभार – उज्यालो अनलाइनबाट ।