काठमाडौं, जेठ ३ – नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ युगको सुरु भएको बताउनुभयो ।

उहाँले विगतमा फुट्ने परिपाटी बसालेको कम्युनिष्ट पार्टी अब नयाँ युगमा नयाँ ढंगले अगाडि बढ्ने बताउनुभयो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीलाई पुनः एकीकरण गर्न सफल भएको भन्दै प्रचण्डले आजको दिन कहिल्यै बिर्सन नसकिने दिन भएको बताउनुभयो ।

मदन भण्डारीको देहवसान भएको दिन एकीकरण गर्ने प्रस्ताव आफैले गरेको प्रचण्डले बताउनुभयो । अन्तर्राष्ट्रिय राजनीतिमा स्थीरता, समृद्धि र विकासको सन्देश दिन यो एकता ऐतिहासिक भएको छ प्रचण्डको भनाई थियो ।

मदन भण्डारीकै पालामा पनि कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने चाहना भए पनि त्यतिबेला त्यो असफल भएको र अहिले त्यो सम्भव भएको प्रचण्डले बताउनुभयो । ‘यो देशले योभन्दा बढी धुव्रिकरण, अराजकता चाहेको छैन’, प्रचण्डले भन्नुभयो, ‘अराजकता बढ्दा हामी कम्युनिष्ट भएको कुनै अर्थ नहुँने भएका कारण एकीकरण भएको  हो ।’

‘हामीले हाम्रो संकल्प पूरा गरेका छौं’, प्रचण्डले भन्नुभयो, ‘अब हामी सामाजिक न्यायसहित आर्थिक समृद्धिद्वारा समाजवाद उन्मुख भएका छौं । अब नयाँ युगको सुरुवात भयो । अब अराजकता, धुव्रिकरणको अन्त्य भयो ।’

‘कम्युनिष्टमा व्यक्तिवादी, उपभोक्तावादी चिन्तन बढ्दै आएको छ । सत्तामा पुगेका विश्वका राजनीतिमा राजनीतिक दलहरु अराजक भएका कारण जनताले पिटीपिटी मार्ने आवस्था आयो’, कम्युनिष्टहरु बिग्रिएको बताउँदै प्रचण्डले  भन्नुभयाे, ‘ हामी २१ औं शताब्दिको समयलाई बुझ्न सक्ने पार्टी बनाउन एकीकरण भएका हाैं ।’

कम्युनिष्टमा सत्ताप्रतिको मोहले स्खलन आएको र त्यसलाई सुधार्न कम्युनिष्टको एकीकरण आवश्यक भएको प्रचण्डले भन्नुभयो । उहाँले आफूहरुले त्यस्तो हुन नदिने बताउनुभयो । सत्ताको भोकका कारण कम्युनिष्टको बिग्रिएको उहाँको भनाई थियो ।

फरक प्रसंगमा प्रचण्डले भन्नुभयो, ‘आफूले कमजोरी गरेको अवस्थामा नागरिक र देशले दुःख पाउने गरेको र आफूले सही काम गरेको बेला नागरिक र देशले सुख पाएको पाउँछु ।’

‘हाइड्रोजन र अक्सिजन बनेर पानी बन्छ  र त्यो छुट्याउन आवश्यक छैन, छुट्टिदैँन’, प्रचण्डले भन्नुभयो, ‘यो एकीकरण पनि छुट्टै पाटोमा अगाडि बढिसक्यो । एकीकरणलाई छुट्याउन सकिँदैन ।  अब नयाँ पार्टीमा एमाले खोजेर पाइन्छ न माओवादी ।’

नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष रहेका प्रचण्डले आफ्नो जीवनमा थुप्रै पटक निरन्तरतामा क्रमभंगता भएको भन्दै पार्टी एकीकरण प्रक्रियालाई पनि निरन्तरतामा क्रमभंगता भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया