काठमाडौं, जेठ १ – एमाले र माओवादी केन्द्रबीचको एकताको काम अन्तिम चरणमा पुगेको दुवै दलका नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भएको वार्तापछि भोलि वा पर्सिभित्र एकताको घोषणा गर्ने गरी काम अघि बढाउने सहमति भएको नेताहरुको भनाई छ ।
दुवै दलका नेताहरुका अनुसार अब पार्टी एकताको कामलाई फाइनल टच दिन मात्र बाँकी छ । ‘९९ प्रतिशत काम सकिइसक्यो’, नेताहरु भन्छन्, ‘अब १ प्रतिशत मात्र काम बाँकी छ ।’
दुवै अध्यक्षको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट एकै दलको नामबाट ल्याउने गरी सहमति भएको हो । त्यसका लागि केही प्राविधिक र कानुनी काम बाँकी रहेकाले त्यसको गृहकार्यका लागि दुवै पार्टी व्यस्त रहेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार बेलुका ४ बजेका लागि एमालेले स्थायी समिति र माओवादीले हेडक्वार्टरको बैठक बोलाएका छन् । दुवै बैठकले आ–आफ्ना केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने नेताहरुको भनाई छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले दुवै दल अब सघन तयारीमा लागेको र संसदमा नीति तथा कार्यक्रम पेस हुनुभन्दा पहिले नै पार्टी एकताको घोषणा गरिने बताउनुभयो । धेरै कुरा टुंगिसकेकाले अबका एक–दुई दिनमै पार्टी एकता र त्यससँग सम्बन्धित कानुनी र प्रविधिक कुरा टुग्याइने उहाँको भनाई छ । जतिसक्दो छिटो एकताको घोषणा गर्ने गरी काम अघि बढाउन दुवै दल सहमत भएको र अब यसैको आन्तरिक तयारीमा केन्द्रित हुने उहाँले बताउनुभयो ।
एमाले सचिव योगेश भट्टराईले बुधबार बिहानको बैठकबाट धेरै कुरा टुंगो लागिसकेको र बाँकी कुरा एकता समायोजन समितिको बैठकबाट मिलाइने जानकारी दिनुभयो ।
अब कानुनी र प्राविधिक विषय मिलाउने कुरामा रातदिन नभनी लाग्ने नेताहरुको भनाई छ ।
यस्तो छ एकता प्रक्रिया
एकताका लागि दुवै दलका केन्द्रीय समितिका बैठकले केन्द्रीय समिति विगटन भएको घोषणा गर्नुपर्नेछ । त्यसैगरी नयाँ दलको नाम, केन्द्रीय सदस्यको संख्या, चुनाव चिन्ह, तदर्थ समिति गठनलगायत विषयमा निर्णय गर्नुपर्छ । केन्द्रीय समितिका बैठक फरक–फरक बस्नेछन् । तर निर्णय भने एकै व्यहोराका हुनेछन् । त्यसपछि दुवै दललाई एक बन्ने कानुनी बाटो खुला हुनेछ । त्यसपछि, निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनेछ ।
नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र चुनाव चिन्ह सूर्य राख्नेबारेमा सहमति भइसकेको नेताहरुले बताएका छन् । यति भएपछि यही जेठ ७ गने संसदमा राष्ट्रपतिले पेस गर्ने नीति तथा कार्यक्रम र जेठ १५ गते आउने बजेट एकै दलको सरकारले बनाएको हुनेछ । अब दुवै दलको ध्यान कानुनी र प्राविधिक विषय मिलाउनेमा केन्द्रित भएको एमाले सचिव श्रेष्ठले बताउनुभयो ।
केही दिनदेखि एमाले र माओवादीबीचको एकताबारे अनेकौं शंका बढेपछि दुवै दल र शीर्ष नेताहरुले एकताको विषयलाई गम्भीरताका साथ लिँदै अघि बढ्नेगरी छलफल थालेका थिए ।
साभार – उज्यालो अनलाइनबाट ।