काठमाडौं, जेठ २ – लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज ३ गतेदेखि हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति तय भएको हो ।
लिगमा १४ वटा क्लबको सहभागिता रहने पनि एन्फा लिग कमिटीले जनाएको छ । नेपालको शीर्ष डिभिजनको लिगमा थ्रीस्टार क्लब, मनाङ् मस्र्याङ्दी क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यू रोड टिम एनआरटी, ब्रिगेड ब्वइज क्लब र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउनेछन् ।
लिग कमिटीले सबै क्लबलाई बढीमा ३५ र कम्तिमा १८ खेलाडी अनुबन्धको स्वीकृति समेत प्रदान गरेको छ । सँगसँगै प्रत्यक क्लबले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र खेलमा बढीमा तीन जनालाई मैदानमा उतार्न सकिने प्रावधान लागु गरेको छ ।