इलाम, जेठ २ – इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् । सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई चारलाख दुई हजार रुपैयाँ सहयोग गरेको हो । समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका ४ का ऋतिक घिमिरेका लागि तीन लाख १० हजार सहयोग गरेको छ ।

सहयाेग रकम मंगलबार इलाम सदरमुकाममा भएको एक कार्यक्रमबीच बिरामीका परिवारलाई सेवा समाजका संस्थापक अध्यक्ष हरि खनाल, जिल्ला समन्वय समिति, इलामका प्रमुख गणेश बराल र युद्धप्रसाद वैद्यले हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, इलाम नगरपालिका ५ बरबोटेकी हात आगोले पोलेर उपचाररत निरु राईका परिवारलाई समेत सोही अवसरमा नगद ६२ हजार रकम उपलब्ध गराइएको छ । त्यस अवसरमा समाजले सन्दकपुर गाउँपालिका सुलुबुङकी मुटुरोगी निसानी साउदेनका परिवारलाई नगद ३० हजार हस्तान्तरण गरेको छ । सो रकमसमेत सेवा समाजका संस्थापक अध्यक्ष खनालसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु र महासंघका १ नम्बर प्रदेशका उपाध्यक्ष सोमनाथ सुसेलीले हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा ऋतिककै परिवारलाई सञ्चारकर्मी नरेन इलामेलीले संकलन गरेको १३ हजार ८५० समेत हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया