पूर्वी झापाको ज्यामिरगढीका धेरै बासिन्दा चिया बगानमा काम गर्छन् । त्यहीँको बेन्डी वस्तीका सन्थाल आदिवासीको गुजारा गर्ने ठाउ पनि चिया बगान नै हो । तर सन्थाल आदिवासीका पुरुषको मन चिया बगानमा भन्दा मुसाको सिकारमा रमाउछ ।
गाउँमा कसैले मुसा मार्न जाउँ भन्ने बित्तिकै सन्थाल पुरुषहरु मुसाको सिकार गर्ने सरसामान बटुलेर खेतमा पस्छन । मुसाको सिकार गर्न जादा बाटामा मानिस अघि र कुकुर पछि हुन्छ । खेतमा पुगेपछि चाहि कुकुर अघि लाग्छ । कुकुरले मुसा कुन दुलोमा छ भन्ने पत्ता लगाउछ ।
कुकुरले देखाएका खेतका गह्रा, कान्ला कुनामा खनी खोस्री गरेपछि मुसा समातेर उनीहरु गाउँ फर्किन्छन् । फेला पारेको मुसा सबैलाई भाग लगाउँछन् । सिकारमा गएको कुकुरले एक भाग पाउँछ । यसरी मुसाको सिकार गर्दा दिन त काट्छ नै, मुसाको मासुले खानामा स्वाद पनि थप्छ ।