कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवा प्रवाहको बारेमा छड्के अनुगमन गरिएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले अस्पतालको सेवा प्रवाहको बारेमा छड्के जाँच गर्नुभएको हो । पछिल्लो समयमा सेवा प्रवाहको विषयमा विभिन्न जनगुनासो आएपछि मन्त्रीको उपस्थितिमा प्रतिष्ठानको प्रशासन र सेवा प्रवाहमा छड्के अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा २६ जना कर्मचारीहरु अनुपस्थित भएका सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँले कर्मचारीहरु के कति कारणले हाजिर नभएका हुन् भन्ने  विषयमा प्रशासनले स्पष्टीकरण लेख्ने र अनुसन्धान गरी अस्पतालमै नआएर वा कामविहिन अवस्थामा प्रतिष्ठान बाहिर भएमा कारवाही अगाडि बढाईने बताउनुभयो ।

साथै प्रतिष्ठानका पदाधिकारीहरुको हाजिर नै नभेटिएको सहायक प्रजिअ बुढ्थापाले बताउनुभयो । यसैगरी कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र प्रजिअ पौडेलले अनुगमनको क्रममा बिरामीका बेडहरु सफा नदेखेपछि सफा राख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

उहाँहरुले प्रशासन भवन, ल्याब, ईमरजेन्सी, बिरामी वार्ड, फार्मेसी लगायतका सम्पूर्ण सेवाहरुको अवलोकन समेत गर्नुभएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल  कर्णाली प्रदेशकै सबैभन्दा ठूलो विश्वविद्यालय स्तरको स्वास्थ्य संस्था हो ।

वि.सं २०६८ सालमा संसदमा ऐन मार्फत स्थापना भएको प्रतिष्ठानको विशेषज्ञ सेवा प्रवाह र गुणस्तर बढ्दै गर्ईरहेको भनिएको समयमा उच्चस्तरीय टोलीबाट छड्के अनुगमन गरिएको यो पहिलो पटक हो ।

यसैगरी नयाँ निर्माण भएको ३ सय शैयाको अस्पताल, निर्माणाधीन अक्सिजन प्लान्टदेखि विभिन्न कक्षहरुको अवलोकन  समेत गरिएको थियो । अनुगमनका क्रममा अस्पतालको बहिरंग कक्षमा डाक्टरहरु जाँच गर्न ढिला आउने गरेको विरामीहरुले गुनासो गरेका थिए ।

यसैगरी एक दिन अगाडि मन्त्री भण्डारीले जुम्लाका सम्पूर्ण कार्यालय प्रमुखलाई सेवा प्रवाह सजिलो र छिटो बनाउन आवश्यक ब्रिफिङ समेत गर्नुभएको थियो ।
यसै क्रममा शिक्षण अस्पतालका सेवाका विषयमा भएका समस्या र चुनौति विषयमा कर्मचारीहरुसँग सुझाव लिइएको थियो ।

 

साभार – उज्यालो अनलाइनबाट  ।

तपाईको प्रतिक्रिया