तेह्रथुम । म्याङलुङ्ग नगरपालिकाले चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ९८ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण महिनादेखि बैशाख मशान्त सम्मको अवधिमा नगरपालिकाले ९८ लाख ९० हजार ८ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको हो । नगरपालिकाको कार्यालय सहित सबै वडा कार्यालयबाट विभिन्न कर, सिफारिस, सरसफाई सेवा शुल्क, निवेदन, दण्ड जरिवाना र लागत सहभागिता समेत गरी ९८ लाख ९० हजार ८ सय ५८ रुपैयाँ आम्दानी भएको राजस्व शाखाका प्रमुख खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि घर बहाल कर र एकिकृत सम्पत्ति कर लागु गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरपालिकाले १० प्रतिशत लागत सहभागिता समेत अनिवार्य गरेको थियो । हालसम्मको संकलित कुल आयमध्ये सबैभन्दा बढी लागत सहभागिताबाट मात्रै ७१ लाख २३ हजार २ सय २६ रुपैयाँ जम्मा भएको छ । यस्तै व्यवसाय दर्ता तथा नवीकरण वापत् ६ लाख ८५ हजार ९ सय २४ र सरसफाई सेवा शुल्कवापत ५ लाख ८६ हजार ८ सय रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।