काठमाडौं। युवा संघ नेपालले २४९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ। सङ्घको वैशाख ३–६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्कालीन उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि आज पूर्णता दिइएको उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिए। आगामी असोज ६–८ गते काठमाडौँमा अधिवेशन गर्ने निर्णय पनि भएको छ।
यसअघि महाधिवेशनका लागि आयोजक कमिटीका संयोजकमा नीरुदेवी पाल र राजीव पहारीलाई समेत जिम्मेवारी दिइएको थियो। संगठनभित्रको आन्तरिक समस्या तथा राज्यका तीनै तहका चुनाव भएका कारण निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन।
अधिवेशनका लागि २० समिति पनि गठन गरिएको छ जसमा राजनीतिक प्रतिवेदन लेखन समिति संयोजकमा रमेश पौडेल, मूल व्यवस्थापन समिति संयोजकमा किरण पौडेल, साङ्गठनिक समितिमा नरेश शाही, प्रचारप्रसार समितिमा कटवाल रहेका छन्। रमेश पौडेल नेतृत्वको आयोजक कमिटीले वाइसिएलसँग एकताका लागि आवश्यक गृहकार्य गरी महाधिवेशनका लागि तिथि तय गर्ने जनाइएको छ। सङ्घ( सिरहा अधिवेशन पहिले प्ररायुसङ्घ)का अध्यक्षमा केपी शर्मा ओली, केशव स्थापित, उदयराज पाण्डे, पशुपति चौलागाईँ, गोकर्णराज विष्ट, अजम्बर काङ्माङ, महेश बस्नेत रहिसक्नुभएको छ।