रामेछाप । रामेछापको मन्थलीमा खोलाले बगाउँदा बेपत्ता भएकी उष्मा फुयाँलको अवस्था अझै अज्ञात छ ।
कक्षा ११ को परीक्षा दिन सोमबार बिहान मन्थली माविबाट भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परीक्षा केन्द्रमा हिँडेकी फुयाँललाई खोला तर्ने क्रममा बगाएको थियो । परीक्षा दिन गएका ६ जना विद्यार्थीहरु एकआपसमा हात समातेर खोला तर्दै गर्दा अकस्मात सबै जनालाई खोलाले बगाएको थियो । खोलाले बगाउँदै तामाकोशी नदीमा पुर्याएका ५ जना भने बाहिर निस्कन सफल भएका थिए ।
उनीहरुसँगै खोलाले बगाएकी फुयाँललाई भने साँझसम्म पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।
हराइरहेकी फुयाँलको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीय बासिन्दाले दिनभर खोजी गरे पनि फेला पार्न नसकेको उहाँले बताउनुभयो ।
खोलामा आएको धमीलो पानीसँगैको हिलोमा शव पुरिएको हुनसक्ने आशंकमा साँझदेखि जेसिभी लगाएर खोजी कार्य भइरहेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
आइतबार रातिदेखि नै अविरल रुपमा आएको वर्षाले स्थानीय जनजिवन प्रभावित बनाएका छन् । पानीपछि आएको बाढीले अवरुद्ध भएका केही सडकहरु डोजर लगाएर दिउँसोबाट सञ्चालनमा ल्याइएको भए पनि मन्थलीबाट भटौलीतर्फ जाने सडक भने अझै खुल्न सकेको छैन् ।
मन्थलीदेखि बडिमुहान सडक खण्डमा पहिरोले सडक अवरुद्ध हुँदा सदरमुकाम मन्थलीदेखि भटौली, पकरवास, माकादुम, गाल्वा, दोरम्बा, टोकरपुर लगायतका स्थानमा जाने सबै सवारीसाधनहरु अवरुद्ध भएका छन् ।