काठमाडौं, ३१ वैशाख–नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरहेका बेला एकअर्काबीच आरोप–प्रत्यारोप र घोचपेच चल्न थालेको छ ।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा भारतीय सेनाको कमान्डोलाई नेपालमा प्रवेश दिइएको तथा अरुण तेस्रोको शिलान्यासप्रति आपत्ति जनाएको छ । एमालेले भने शान्ति सुरक्षाको विषयलाई लिएर टिप्पणी गरेको छ ।
प्रतिनिधिसभाको सोमवार बसेको बैठकको विशेष समयमा माओवादी र एमालेका सांसदहरूले एक अर्काप्रति घोचपेच गरेका हुन् । गृह प्रशासन माओवादीको नेतृत्वमा छ ।
नेकपा एमालेका महेश बस्नेतले मध्यपुरठिमीका मेयर मदनसुन्दर श्रेष्ठको आक्रमणकारीलाई अहिलेसम्म पक्रन नसकेको भन्दै गृह प्रशासनको आलोचना गरे ।
‘एउटा जनप्रतिनिधिमाथि आक्रमण भएको २३ दिनसम्म राज्य दोषी पक्राउ गर्न सक्दैन, ७७ वर्षीया दिलमाया राईको बलात्कारी पक्रन सक्दैन, हेटौँडा र सिन्धुलीमा निर्माण व्यवसायीका सामानमा आगो लगाइन्छ, भाटभटेनीमा बम हानिन्छ, सुरक्षा कहाँ छ ?’ बस्नेतले प्रश्न गरे ।
एमालेकै कृष्णगोपाल श्रेष्ठले पनि मेयरमाथि आक्रमण भएको २३ दिनसम्म अपराधी पक्राउ पर्न नसक्नुको कारणबारे सदनमा गृहमन्त्रीको जवाफ माग गरे ।
‘राजधानीको एउटा नगरपालिको मेयरमाथिको आक्रमणबारे गम्भीर हुने कि नहुने ? आज २३ दिनसम्म पनि अपराधी पक्रन सकिरहेको छैन,’ श्रेष्ठले भने, ‘सीसीटिभीको फूटेजसहित किटानी जाहेरी दिँदा पनि अपराधी पक्राउ नपर्नु गम्भीर विषय हो । पक्राउ गरिएन भनेर जनता आक्रोशिसत छन्, यसबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’
संसदको बैठकमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तिथिमिति समेत भारतीय मिडियाले सार्वजनिक गर्ने गरेको भन्दै माओवादीले असन्तुष्टि जनायो ।
‘मोदीको भ्रमणमा जुन ढंगले सुरक्षा कमान्डो ल्याउने काम भयो, त्यसप्रति जनताको असन्तुष्टि छ, नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौं भने किन बोलाउने ?’ भुसालले प्रश्न गरिन् ।
माओवादीले मोदीको भ्रमणको राष्ट्रका जल्दाबल्दा समस्या समाधान नगरेको भन्दै असन्तुष्टि जनाएको छ । ‘भारतसँग सीमा समस्या ठूलो समस्या छ । सीमा समस्या हल गर्ने कुरा आएन । विराटनगरमा भारतले राखेको अनाधिकृत कार्यालय हटाउने कुरा आएन,’ प्रवक्ता भुसालले भनिन््, ‘अरुण तेस्रोको शिलान्यास भयो, तर प्राकृतिक स्रोत साधनको लेनदेन गर्दा प्रतिनिधि सभाको दुई तिहाइले पारित गर्ने प्रावधान कता पुगेको छ ?’
शान्ति सुरक्षाको व्यवस्थाप्रति एमाले सांसदले गृह प्रशासनमाथि प्रश्न उठाउने र मोदीको भ्रमणबारे परराष्ट्र मन्त्रालयको कार्यशैलीप्रति माओवादीले प्रश्न उठाउनुले सत्तासाझेदार दुई दलबीच चिसोपना आएको संकेतका रूपमा बाहिर विश्लेषण गरिएको छ ।