काठमाडौं, वैशाख ३१ – उपचारका क्रममा निधन भएका मणि शाह नेपाली फुटबलकै अभूतपूर्व प्रतिभा हुन् ।

उनीजस्तो मिडफिल्डर अहिलेसम्म नेपाली फुटबलले पाएको छैन भन्दछन् नेपाली फुटबल विश्लेषकहरु । उनी अहिलेसम्मकै उत्कृष्ट प्लेमेकर हुन् ।

मणिसँग बल ड्रिबिङ, पेनाल्टी एरियाबाट फिनिसिङका लागि माहिर र विपक्षीलाई कन्ट्रोलमा राख्न सक्ने खुबीको प्रशंसा अहिले पनि हुने गर्छ । सायद त्यसैले होला उनलाई समकालीन महान अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनासँग तुलना गरिएको थियो ।

सन् १९६७ मा काठमाडौंको कालधारामा जन्मिएका मणिको परिवार खेलकुद पृष्ठभूमिको थियो ।  बुवा लक्ष्मणविक्रम शाह पनि फुटबलर थिए । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक रहेका लक्ष्मणविक्रम शाहको प्रेरणाका कारण उनले पनि फुटबल खेल्न थालेका हुन् ।

मणिले सानै उमेरदेखि फुटबलसँग परिचित थिए । फुटबल विश्लेषक सञ्जीव मिश्र मणि शाहलाई दक्षिण एसियाली भन्दा उपल्लो दर्जाको खेलाडीको रुपमा मान्छन् । ‘उनी नेपालले पाएको अहिलेसम्मकै शानदार फुटबलर हुन् । मैदानभित्र उनी जसरी खेल्थे त्यस्तो खेल अहिलेसम्म मैले अरु नेपाली फुटबलरमा देखेको छैन ।’ मिश्रले भने ।

नेपालले १९८१ मा फिफा र एएफसीको सदस्यता पाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन थालेको हो । सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा नेपाली राष्ट्रिय टोलीबाट उनले प्रतिनिधित्व गरेका हुन् ।

१९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा राष्ट्रिय टोलीबाट पर्नुअघि मणि शाहले १३ वर्षको उमेरमै ठमेल–११ क्लवबाट बी डिभिजन लिग खेलेका थिए ।

प्रिन्सेस कप खेलेर फर्किएपछि उनी मनाङ मर्स्याङदी क्लबमा आबद्ध भए । थ्रीस्टारसँगको झगडामा ठमेल–११ प्रतिबन्धमा परेपछि खोलिएको मनाङले डी, सी, बी जितेर ए डिभिजनमा आएको पहिलो सिजनमै च्याम्पियन बनाउन शाहको योगदान उल्लेख्य थियो ।

त्यसको २ वर्षपछि नै शाहले १७ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीमा परेका हुन् ।

सन् १९९३ को साग गेम्स अन्तर्गत फुटबलमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय हिरो बनाइदियो । समूह चरणमा घरेलु टोली बंगलादेश र फाइनलमा भारतलाई पेनाल्टीमा हराउँदा मणि शाहको योगदान उल्लेख्य थियो । फाइनलमा भारतविरुद्ध अन्तिम सेकेण्डमा बराबरी गोल र पेनाल्टीमा अविस्मरणीय ५–४ को जित निकाल्दा मणि शाह नेपाली हिरो बनेका थिए ।

उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका थिए । फुटबलबाट एशियाली खेलकुदमा झण्डा बोक्ने उनी एक्ला हुन् ।

मिडफिल्ड र स्ट्राइकर दुवै पोजिसनमा फिट हुने उनलाई प्रशिक्षकले आवश्यकता अनुसार खेलाउँथे ।

तपाईको प्रतिक्रिया