तेह्रथुम । अलैँची किसान र व्यवसायीले गुणस्तरीय अलैँची उत्पादनका लागि आधुनिक भट्टीको प्रयोग आफुहरु तयार रहेको बताएका छन् । गुणस्तरीय अलैँची उत्पादनका लागि आधुनिक अलैँची भट्टी महत्वपुर्ण भएपनि महंगो भएका कारण आफुहरुले खरिद गरेर प्रयोगमा ल्याउन नसकेको किसानको भनाई रहेको छ ।

किसानहरुले आधुनिक भट्टीको खरिद र प्रयोगका लागि आफुहरुलाई अनुदानको व्यवस्था गर्न माग समेत गरेका छन् । आज म्याङलुङ्गमा अलैँची व्यवसायी संघ तेह्रथुमको संयोजनमा भएको आधुनिक अलैँची भट्टी प्रदर्शन कार्यक्रममा सहभागी किसान र व्यवसायीहरुले आधुनिक भट्टीको प्रयोगले अलैँचीको गुणस्तर वृद्धि हुने र राम्रो मुल्य पाउने भएका कारण पनि सो भट्टीको प्रयोग गर्न आफुहरु उत्साहित रहेको बताएका छन् । कार्यक्रममा सिंहवाहिनी इन्जिनियरिङ वर्क सप इटहरीले बनाएका आधुनिक भट्टीहरु प्रदर्शन गरिएको छ ।

ती आधुनिक भट्टीहरुको मुल्य ३५ हजारदेखि ६० हजार रुपैयाँ प्रतिगोटा सम्म पर्ने सो वर्कसपले जनाएको छ । कार्यक्रममा सहभागीहरु अलैँची भट्टीको प्रयोगका लागि उत्साहित देखिएका अलैँची व्यवसायी संघ तेह्रथुमका महासचिव तुलसी ढकालले बताउनुभयोे । उन्नति परियोजनाको सहयोगमा भएको कार्यक्रममा उन्नति परियोजनाका कृषि व्यवसाय विज्ञ रमेश भण्डारी, नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहाल, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य सभा पौडेल र म्याङलुङ्ग नगरपालिका–६ का वडाध्यक्ष इन्द्र पन्धाक लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रम अलैँची व्यवसायी संघका जिल्ला अध्यक्ष अमृत सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया