काठमाडौं, वैशाख ३१ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको  लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो ।

यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा  लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

बेलाबेला बत्ती जानु लोडसेडिङ होइन : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली जाने क्रम लोडसेडिङ नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिलेको प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण/बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार तथा विकास निर्माणका कामका कारण कहिलेकाँही केही समयका लागि बिजुली नआउन सक्ने तर त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो ।

बिहान बेलुका बिजुली कम खपत गर्न आग्रह

विद्युत प्राधिकरणले बिजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध गरेको छ । विहान बेलुकाको पिक आवरमा धेरै बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्न र अरु समयमा पनि बिजुली सकेसम्म कम मात्र खपत गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले अनुरोध गर्नुभएको छ । उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधिकरणको अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

चुहावट ६ प्रतिशतले घट्यो, १५ प्रतिशतमा झार्ने लक्ष्य

विद्युत प्राधिकरणले विद्युत चुहावट ६ प्रतिशतले घटाएको छ । यसअघि २६ प्रतिशतसम्म रहेको लोडसेडिङ अहिले २० प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले जानकारी दिनुभयो । चुहावट आउँदो वर्षसम्ममा १५ प्रतिशतमा झार्ने गरि काम भइरहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया