बैतडी, वैशाख ३० – बैतडीको सिगास गाउँपालिकामा सञ्चालनमा रहेका ७ ओटा लघुजलविद्युत आयोजना मध्ये ६ ओटा पूर्ण रुपमा बन्द भएका छन् ।

लघुजलविद्युत आयोजना बन्द हुदाँ स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन् । सबै जलविद्युत आयोजना मर्मत हुन नसक्दा बन्द भएका हुन् । २०५८ मा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेको १० किलोवाट क्षमताको सिराडीखोला लघुजल विद्युत आयोजना, ८ किलोवाट क्षमताको बल्लेखोला लघुजल विद्युत आयोजना , २०६० मा निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाँड लघुजलविद्युत आयोजना र २०६५ मा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमता भएको न्वाघरीगाड लघुजल विद्युत आयोजना अहिले बन्द रहेका छन् ।

सिगास गाउँपालिकाको शिवलिंगमा रहेका ४ ओटा लघुजलविद्युत आयोजनाबाट ५२ किलोवाट विद्युत उत्पादन भइरहेको थिया । यहाँको लघुविद्युत आयोजनाबाट ५ सय १२ घरधुरीले बिजुली बालिरहेका थिए । अहिले आयोजना बन्द भएपछि स्थानीयबासी अन्धकारमा बस्दै आएका छन् । अहिले सिगास गाउँपालिकाको वडा नम्बर १ मा रहेको इरानागाड लघुजलविद्युत आयोजना पनि बन्द भएको छ ।

लाखौँ लगानी गरेर निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द भएपछि अहिले एक हजारभन्दा बढी घरधुरी अन्धकारमा बस्न बाध्य छन् । तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको ऊर्जा तथा वातावरण शाखा, विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा यि आयोजनाको निर्माण भएको थियो ।

गाउँपालिकाको वडा नम्बर ८ मा रहेका बल्लेखोला र सीराडी खोला लघुजलविद्युत आयोजनामा तार र पोल बाहेक अन्य सामग्री नष्ट भैसकेका वडा अध्यक्ष कर्णबहादुर साउदले जानकारी दिनुभयो । वडा नं ६ मा रहेका थलालीगाड लघुजलविद्युत आयोजना मर्मतका लागि ५० लाख बजेट विनियोजन गरिएको छ भने न्वाघरीगाड र न्यौलालीगाड लघुजल विद्युत आयोजना मर्मतका लागि पच्चीस–पच्चीस लाख रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया