तेह्रथुम । नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंक लिमिटेडले तेह्रथुमको बसन्तपुर बजारमा शाखा स्थापना गरेको छ । शाखाको आइतबार आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकको उद्घाटन गर्दै सेवा प्रारम्भ गर्नुभयो । शाखाको सेवा विस्तार गर्दै अध्यक्ष न्यौपानले एनसीसी बैंकले आफुलाई विश्वासनीय र भरपर्दो सेवा प्रदान गर्ने कुरामा ढुक्क रहन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।
उहाँले लालीगुुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा बैंकले शाखा विस्तार गरेको र सो शाखाले पनि सोही अनुरुपको प्रगति हासिल गर्ने आफ्नो अपेक्षा रहेको उहाँले बताउनुभयो । बैंकको सेवा शुभारम्भ कार्यक्रममा लालीगुराँस नगरपालिका वडा नं. १ का अध्यक्ष रुद्रबहादुर लिम्बु, बसन्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर सुवेदी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य सभा पौडेल र लालीगुराँस नगरपालिकाका प्रशाशकीय अधिकृत कृष्णप्रसाद धितालले एनसीसी बैंकको शाखा विस्तार गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालले शाखाले सर्वसुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो । नेपालका ८० बढी स्थानमा शाखा विस्तार गरिसकेको बैंकले दर्जन बढी आकर्षक बचत र ऋणका योजनाहरु सहित मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इभ्नीङ काउण्टर, एटीएम र लकर सुविधा उपलब्ध गराउदै आएको छ । बसन्तपुर शाखामा समेत बढी भन्दा बढी सुविधाहरु मार्फत सेवाग्राहीलाई सुविधा दिने तयारी रहेको शाखा प्रबन्धक विजयराज श्रेष्ठले बताउनुभयो । सो बैंकले केही महिनाभित्रै मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा समेत शाखा विस्तार गर्ने तयारी रहेको बैंकको बसन्तपुर शाखामा कार्यरत खेम थापाले जानकारी दिनुभयो ।