काठमाडौँ, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि काठमाडौँमा हुनुहुन्छ । तर मोदीको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले उर्दी लगाएपछि विद्यार्थीले भोकभोकै घण्टाैँ लाइन बस्नुपरेको छ । त्यो पनि पानी समेत नपाएर ।
शुक्रबार मोदी दिल्लीबाट जनकपुर उत्रिनुभयो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नुभयो । मोदीको स्वागतका लागि २ नम्बर प्रदेशमा सार्वजनिक विदा दिइएको थियो ।
काठमाडौँमा न सार्वजनिक विदा दिइएको थियो न त स्वागतका लागि कुनै उर्दी नै । तर काठमाडौँ महानगरपालिकाले केही सीमित विद्यालयलाई उर्दी लगाउँदै मोदीको स्वागतका लागि विद्यार्थी सडकमा उतार्न निर्देशन दियो ।
महानगरपालिकाको निर्देशनपछि शारदा उच्चमाविका प्रधानाध्यापक र शिक्षकले शुक्रबार बिहान विद्यार्थीलाई पढाउनुको साटो विमानस्थलमा मोदीको स्वागतका लागि चर्को गर्मीमा सिनामंगलको विमानस्थलबाट बाहिर लाइनमा उभ्याए ।
‘बिहान स्कुलमा आएका विद्यार्थीलाई मोदीको स्वागतका लागि जाने जानकारी गराएर १ बजेतिर सिनामंगल ल्याएका हौँ’ विद्यालयका एक शिक्षकले भन्नुभयाे, ‘महानगरपालिकाले निर्देशन नै दिएपछि पालना गर्नुको विकल्प भएन ।’
मोदीको भ्रमण तालिका अनुसार दिउँसो १ बजेर ४० मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम थियो । तर जनकपुरमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम लम्बिएपछि मोदी पौने चार बजेमात्रै विमानस्थलमा आइपुग्नुभयो । त्यतिञ्जेल विद्यार्थीहरु भोक र प्यासले छटपटिंदै थिए । सडकमै राखिएको एक जारको पानी पिउन विद्यार्थीले तँछाडमछाड गरिरहेका थिए ।
तर नजिकै उभिएका विद्यालयका शिक्षकहरु भने यो दृश्य देखेपनि नदेखे झैँ गरिरहेका थिए ।
विद्यार्थी भोकभोकै लाइनमा किन ?
दिउँसो साढे तीन बजेसम्म धैर्य रहेका विद्यार्थीले त्यसपछि धैर्यताको सीमा नाघे । कारण थियो, पानी प्यास र भोक । तर शिक्षकसँग भने खाजा थियो ।
न विमानस्थल बाहिरका कुनै पसल खुला थिए । मोदीको सुरक्षाको लागि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएका थिए भने विमानस्थल बाहिरका सबै पसलका सटर बन्द थिए ।
भोकले पेट पोलेपछि विद्यार्थीले शिक्षक शिक्षिकालाई सोधे ‘सर भोक लाग्यो ।’ तर शिक्षिकाको जवाफ थियो ‘ह्या… जाबो एकछिनको भोक पनि नसहने । राष्ट्रका लागि यति भोक त सहनैपर्छ । हामीले पनि राजाका पालामा कति दिन खाजा नखाएरै स्वागतका लागि बसेका थियौँ ।’
शिक्षामन्त्रीको परिपत्र के का लागि ?
भर्ना अभियानका क्रममा गोरखा पुगेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीले लाइन लागेर स्वागत गरेका थिए ।
त्यसको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँको आलोचना भयो । भोलिपल्टै काठमाडौं फर्केपछि शिक्षामन्त्री पोखरेलले शिक्षा विभागमार्फत देशभरका विद्यालयलाई अतिथि पाहुना स्वागतका लागि विद्यार्थीलाई प्रयोग नगर्न निर्देशन दिए ।
तर उहाँको निर्देशन त्यतिबेला आएर बेकामे भयो । जतिबेला मोदीको स्वागतका लागि विद्यार्थी लाइन लाग्दा त्यही शिक्षा विभागले हतारहतार सुटुक्क गरी नेपाल र भारतका झण्डा विद्यार्थीका हातमा थमायो ।
‘शिक्षामन्त्रीको परिपत्र भए पनि मन्त्रीपरिषद बैठकको निर्णय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि शिक्षा मन्त्रालय, विभाग हुँदै काठमाडौं महानगरपालिकाले स्वागतका लागि विद्यार्थी खटाउने निर्णय गरेको हो ‘काठमाडौं महानगरापलिकाका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले भन्नुभयो ‘कुनै दल विशेषका कार्यक्रमलाई नभई छिमेकी देशको कार्यकारी प्रमुखको स्वागतमा विद्यार्थी खटाउँदा अन्यथा भएजस्तो लाग्दैन ।
मोदीले विद्यार्थीसँग हात मिलाउन चाहेपछि…
प्रधानमन्त्री भएपछि पहिलोपटक २०७१ सालमा नेपाल भ्रमणमा आउँदा नयाँ बानेश्वरमा नागरिकसँग हात मिलाएर मोदीले निकै लोकप्रियता कमाउनु भएको थियो । सडकमा नागरिकसँग मोदीले हात मिलाएपछि सदनमा पनि सबै नेपालीको मन छुने भाषणा गर्नु भएको थियो ।
तर ठिक चार वर्षपछि मोदी समग्रमा तेश्रोपटक नेपाल आउँदा समय र अवस्था फेरिएको छ । मोदीको स्वागतका लागि जबर्जस्ती भए पनि विद्यार्थी सडकमा उतारियो । विद्यार्थीको स्वागत देखेपछि विमानस्थलबाट बाहिरिदै गर्दा सिनामंगलमा मोदीले गाडी स्लो गरे ।
विद्यार्थी नजिकै गएर मोदीको सुरक्षाको अगाडिको गाडी रोकियो पनि । तर विद्यार्थी थोरै देखेपछि केही स्लो भएको गाडी फेरि जोडले कुद्यो ।
मोदीले विद्यार्थीसँग हात मिलाउन खोजेको जस्तो देखेपछि पत्रकार र सडकमा उभिएका ट्राफिक पनि मोदीको गाडीतिर दौडे । तर एक मिनेट नपुग्दै मोदीको गाडी फेरि गौशाला, चाबहिल हुँदै बौद्धमा रहेको हायात होटलतिर लाग्यो ।
फेरिँदो समयक्रम र नाकाबन्दीको सास्ती झेलेका नागरिकले सामाजिक सञ्जालमार्फत तीव्र विरोध गरेपछि मोदीले चाहेर पनि सडकमा विद्यार्थीसँग हात मिलाउन नसकेको अनुमान लगाउन गाह्रो भएन् ।
साभार- उज्यालो अनलाइनबाट ।