धनुषा, वैशाख २८ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेशमा सहज ‘इन्ट्री’ भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर पुगेसँगै उहाँको मधेसमा सहज ‘इन्ट्री’ भएको हो ।
पहिले दौरा सुरुवालमा देखिने ओली मोदीलाई स्वागत गर्न कुर्ता र पाइजामामा गम्छा ओढेर जनकपुर पुग्नुभयो । मोदीको जस्तै ‘गेटअप’मा देखिएका ओलीलाई मधेसका नागरिकले स्वागत गरे । उहाँको मधेस आगमनलाई सहज रुपमा लिए ।
२०७२ सालमा नेपालको संविधानको घोषणा हुने संघारमा भएको ६ महिना लामो मधेश बन्द र मधेसमा विकसित घटनाहरुमा ओली र एमालेका केही नेताले दिएको अभिव्यक्तिले आफूहरुको मानमर्दन भएको मधेशवादी दल र तिनका नेता कार्यकर्ताले अहिलेसम्म बताउने गरेका छन् । त्यसैकारण अहिले पनि एमालेका शीर्ष नेता मधेश झर्न लाग्दा विरोधका स्वरहरु सुनिन्छन् ।
अहिलेसम्म ओली लगायत केही शीर्ष नेतालाई तराई मधेशका ठाउँसम्म पुग्न सकस परिरहेको थियो । यसअघि झलनाथ खनाल, माधवकुमार नेपाल लगायत एमालेका शीर्ष नेताहरु २०७३ सालको कात्तिक १७ गते दीपावली तथा छठको अवसरमा चियापान समारोह आयोजना गरेर जनकपुरमा झरेका थिए ।
त्यतिबेला पनि मधेशवादी दलका नेता कार्यकर्ता एमालेप्रति आक्रोशित थिए । तर उनीहरुले विरोध गर्न चाहे पनि विरोधले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई असर पर्ने भन्दै चुप बसेका थिए । अहिले पनि मधेशवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका नेता कार्यकर्तालाई त्यस्तै बाध्यता छ ।
भारतीय प्रधानमन्त्री मोदीको स्वागत गर्न प्रधानमन्त्री ओली नै आउने भएपछि विरोधका स्वर स्वतः मत्थर भएका छन् । प्रदेश २ को सरकारले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भब्य स्वागतको व्यवस्था गरेर होर्डिङबोर्ड, पर्चा र पोष्टरमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीका तस्बिर संगै झुण्ड्याएको छ ।
राजपाका एक नेताले नाम नभन्ने सर्तमा भने, ‘मोदीको जनकपुर आगमन नै ओलीको लागि जनकपुर सहज इन्ट्री हो । अन्य दिनमा त गाह्रै पथ्र्यो । हामी अहिले पनि प्रधानमन्त्री ओलीको घोर विरोध गर्छौं । तर समय परिस्थितिले हामी चुप रहन बाध्य छौँ ।
तस्बिर : रवीश कुमारकाे ट्विटरबाट