तेह्रथुम — सीमावर्ती जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका ९ का ३४ वर्षीय राजु अधिकारीले गाउँकै लालीगुराँस आधारभूत विद्यालयमा दशकभन्दा बढी समय अध्यापन गरे । उनी विद्यालयका प्रध्यानाध्यापक थिए । यसअघि उनले केही वर्ष बोर्डिङ स्कुलमा पनि पढाए । गाउँकै विद्यालयको शिक्षण पेसा, पारिश्रमिक पनि ठिकै थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिका ९ मूर्तिढुंगाका युवा किसान राजु अधिकारीले सञ्चालनमा ल्याएको व्यावसायिक गाई फार्म ।
शिक्षाशास्त्र संकायमा अर्थशास्त्र विषय लिएर स्नातकसम्मको अध्ययन सकाएका अधिकारी शिक्षण पेसा छाडेर गाईपालनमा लागेका छन् । सरकारी विद्यालयमा चक र डस्टर समाएका उनका हातले अहिले गोबर सोहोरिरहेका छन् । विद्यालय तहमा पढ्दै गर्दा भविष्यमा व्यावसायिक गाईपालक कृषक बन्ने सपना उनले साँचेका थिए ।
उनको त्यो सपना अहिले पुरा हुने चरणमा छ । रोजगारीका लागि युवा उमेरमै २१ महिनासम्म उनले कतारको मरुभूमिमा बिताए । फर्किएर आएपछि १० लाख रुपैयाँको लागतमा ६ माउ गाई किनेर ‘अधिकारी एकीकृत कृषि तथा पशु फार्म’ सञ्चालनमा ल्याए । ०७० सालमा सुरु गरेको फार्मको लगानी बढेर अहिले १ करोड ५० लाख रुपैयाँ बढी पुगेको छ । फार्ममा गाईको संख्या ३१ पुगेको छ ।
सुरुमा गाउँकै किसानबाट गाई किनेर फार्म सुरु गरेका अधिकारीले पछि इलामको फिक्कलबाट उन्न्त जातका गाई ल्याए । दुधालु गाईको खोजीमा भारतको पञ्जाव राज्यसम्म पुगे । त्यहाँबाट प्रतिगाई २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म लगानी गरेर होलस्टोन र जर्सी जातका गाई खरिद गरी ल्याएका छन् । भारतबाट ल्याएका गाईले दैनिक ३० लिटरसम्म दूध दिने अधिकारीले बताए । फार्ममा १३ वटा गाई दुहुना छन् । बाँकी कोरली र ब्याउने छन् । यो सिजनमा उनले दैनिक २ सय लिटर दूध विराटनगरमा रहेको दुग्ध वितरण आयोजनालाई बेच्दै आएका छन् ।
यसबाट मासिक २ लाख ४० हजार रुपैयाँ आम्दानी भइरहेको अधिकारीले बताए । खर्च कटाएर महिनामा १ लाख रुपैयाँ बढी बचत हुने उनको भनाइ छ ।
दुई वर्षभित्र फार्ममा दुधालु गाईको संख्या बढाएर १ सय माउ पुर्याउने उनको लक्ष्य छ । त्यति बेलासम्ममा दूध र गाईका बाछाबाछी बिक्रीबाट सबै खर्च कटाएर मासिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने योजनाका साथ फार्ममा पूर्वाधार निर्माण गरिरहेको अधिकारीले बताए । थप ५० माउ गाई बाँध्न मिल्ने सुधारिएको गोठ बनाउन लागेका छन् । फार्ममा अन्य दुई जनाले रोजगारी पाएका छन् ।
दूध, घाँस र दाना ढुवानीका लागि ३ लाख ५० हजार रपैयाँ बढी लगानी गरेर उनले घरसम्मै सडक बनाएका छन् । सडक निर्माणमा अन्य दुई जना छिमेकीले पनि केही पैसा सहयोग गरेर उनलाई सहयोग गरेका छन् । घरमै दूध संकलन केन्द्र सञ्चालनमा ल्याएका छन् । केन्द्रमा गाउँका अन्य किसानले पनि दूध बिक्रीका लागि ल्याउँछन् ।६० रोपनी क्षेत्रफल जमिनमा उन्नता जातका घाँस रोपेका छन् । लिजमा थप ५० रोपनी जग्गा वार्षिक ६० हजार रुपैयाँ बुझाउने सर्तमा लिएका छन् ।
उनलाई पशु सेवा कार्यालय र उन्नति समावेशी वृद्धि कार्यक्रमले सघाएका छन् । पशु सेवा कार्यालयले दुई वर्षअघि २ लाख रुपैंया अनुदान दिएर सघाएको अधिकारीले बताए । उन्नती परियोजनाले पनि गत वर्ष दुध संकलन केन्द्र निर्माणका लागि थप ५ लाख रुपैंया दिएर सहयोग गरेको छ ।
कान्तिपुर दैनिकबाट ।