तेह्रथुम । म्याङलुङ्ग नगरपालिका–४, पिप्ले वडा कार्यालयले ९० वर्ष माथिका छ जना वृद्धवृद्धालाई सम्मान गरेको छ । कार्यालयले अन्य १२ जना अपाङ्गता भएकाहरुलाई समेत अत्यावश्यक सामाग्रीहरु र नगद समेत प्रदान गरेको छ । वडा कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले वृद्ध वृद्धाहरुलाई दोसल्ला, कदर पत्र र अन्य सामाग्रीहरु सहित सम्मान गर्नुभएको हो ।

यस्तै अपाङ्गता भएकाहरुलाई नगद सहित छाता लगायत सामाग्रीहरु प्रदान गरिएको वडा सचिव इश्वर गड्तौलाले बताउनुभयो । वडाबासी वृद्धवृद्धा र अपाङ्गता भएकाहरुको सम्मानका लागि सो कार्यक्रम गरिएको वडाध्यक्ष राम खड्काले बताउनुभयो ।

वडा कार्यालयले ९९ वर्षीय कौशिला बुढाथोकी, ९८ वर्षीय विष्णुमाया सुवेदी, ९७ वर्षीय लक्ष्मीमाया निरौला, ९६ वर्षीय पदमबहादुर बुढाथोकी, ९४ वर्षीय गंगाप्रसाद निरौला र ९३ वर्षीय खड्गबहादुर दमाईलाई कदर पत्र सहित सम्मान गरेको छ । कार्यालयले वडा क्षेत्रका १२ जना अपाङ्गता भएकाहरुलाई नगद सहित छाता, जुत्ता लगायतका सामाग्रीहरुले सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्बाहाम्फेले नगरपालिकाले आगामी वर्षबाट वृद्धवृद्धा र अपाङ्गता भएकाहरुका लागि विशेष कार्यक्रमहरु बनाएर लागु गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, नेकपा एमालेका केवलराम दाहाल र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष राम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया