उदयपुर । धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौडा सडक आयोजना पूर्वी खण्ड निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । भित्री मधेसलाई केन्द्रीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो राजमार्ग निर्माणको काम द्रुत गतिमा अगाडि बढिरहेको छ ।

राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर –४, वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मका  विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भइरहेको छ ।

डेढ वर्षअघि निर्माण कार्य सुरु भएको बैकल्पिक राजमार्गको ३५ प्रतिशत भन्दा बढी काम भईसकेको आयोजना कार्यालय गाईघाटले जनाएको छ । राष्ट्रिय गौरवको योजना मानिएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा सडक आयोजना पूर्वी खण्डमा एक सय ३४ किलोमिटर सडक पर्दछ ।

सडक ११ मिटर फर्मेसन चौडाई भएको कालोपत्रेयुक्त हुने छ । घरटहराहरुको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानहरुमा हुने विवादहरु मिलान भएसँगै सडक निमार्णको कार्यले द्रुत रुप लिएको हो । आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको निमार्णाधीन सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले बताउनुभयो ।

‘हालसम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भैसकेको छ ।’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘सडक विस्तार हुने  सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेको छ । घरटहराका कारणले काम रोकिने अवस्था अब छैन ।’ उदयपुरतर्फको मुआब्जासम्बन्धी फायल जिल्ला प्रशासन कार्यालयमा पेस गरी सकिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

‘उदयपुर तर्फको मुआब्जा सम्बन्धि विषयमा छिट्टै निर्णय हुने छ ।’  निर्माण कार्यको प्रगतिबारे श्रेष्ठले भने ‘मुआब्जाको निवेदन दिन छुटेकाहरुको लागि निवेदन दिन र लगत कट्टा गर्न सुरु भइसकेको छ, केही दिन भित्रै टुङ्ग्ने छ ।’

विभिन्न स्थानहरुमा सडकको सब ग्रेड, सव वेस, होम पाइम, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका कामहरु भैरहेको निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा ज्वाइन्ट भेन्चरका डेपुटी कन्ट्याक्ट मेनेजर  इन्जिनियर सिताराम दाहालले बताउनुभयो । ‘उदयपुरतर्फ निमार्ण कार्यमा खासै अवरोध नभएपनि सिन्धुली तर्फ भने विधुतले विधुतका पोलहरु हटाउन ढिला भएको छ ।’  इन्जिनियर दाहालले भन्नुभयो, ‘विद्युतको पोल हटाउने ठेक्का लागे पनि पोल हटाउने कार्यमा ढिलाई हुँदा सोचे अनुसार काम हुन सकेको छैन ।’

सडक योजना ३ वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राख्दै २०७३ साल कार्तिक २२ गते निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले ७ अर्व ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

राजमार्गले उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका स्थानीयहरुलाई प्रत्यक्ष फाइदा पुग्ने छ । भने सिन्धुली तर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुदै हेटौडासम्म पुग्ने छ ।

 वैकल्पिक मार्गको निर्माण कार्यमा कुनै अवरोध नआए निर्धारित समयमै निमार्ण सम्पन्न हुने देखिएको छ । आफ्नै घर आगनमा राजमार्ग निर्माण सुरु भएसँगै स्थानीयहरु हर्षित भएका छन् । राजमार्ग बनेपछि आफूहरुलाई राजधानीसँग सहज यातायात पहुँच हुने भएकाले उदयपुरका स्थानीयहरु खुबी भएका हुन् । उदयपुरको पश्चिमी क्षेत्र कटारी र सदरमुकाम गाईघाट यही राजमार्गले जोडिन्छ ।

यस घि कटारीका सदरमुकाम गाईघाट आउन सिरहा र सप्तरी जिल्ला हुँदै धाउनुपर्ने बाध्यता रहेको थियो । राजमार्ग बनेपछि २ नम्बर प्रदेश हुँदै हिँड्नुपर्ने बाध्यता हट्ने स्थानीय राजकुमार थापाले बताउनुभयो । ‘मधेश बन्दको बेला सदरमुकाम गाईघाट आउन निकै सास्ती  परेको थियो ।’ थापाले भन्नुभयो ‘सिरहा, सप्तरी बन्द हुँदासमेत सदरमुकाम गाईघाट र सुनसरीको धरान र मकवानपुरको हेटौडासम्म सहज यात्रा गर्न पाइन्छ ।’ कुनै बहानामा सडक निर्माणमा ढिला सुस्ती हुन नहुने स्थानीयले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया