तेह्रथुम । तेह्रथुममा विभिन्न विधामा उत्कृष्ट प्रतिभा प्रष्फुटन गर्ने तीन जना युवाहरु सम्मानित भएका छन् । राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समितिको कार्यालयले युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत कला, संगीत र साहित्य विधामा तीन जना युवाहरुलाई सम्मान गरेको हो । समितिले कला क्षेत्रमा क्रियाशील युवा तेजबहादुर फोम्बो, संगीत क्षेत्रमा क्रियाशील गायक समीर सिंगक र साहित्य विद्यामा सक्रिय वेदप्रकाश रिमाललाई नगद ७ हजार र कदरपत्र सहित सम्मान गरेको हो ।
युवाहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगानाले कदर पत्र र नगद सहित सम्मान प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि समन्वय समिति प्रमुख ढुंगाना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, युवा संघका केन्द्रीय सदस्य अर्जुन ढुंगाना, नेपाल तरुण दलका जिल्ला अध्यक्ष विपीन निङलेकु, म्याङलुङ्ग नगरपालिका–१० का वडा सदस्य अनिल नेपाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा युवा र सामाजिक विकास विषयक अन्तरक्रिया समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले युवाका क्षेत्रमा सरकारले पर्याप्त बजेट, नीति र कार्यक्रम बनाएपनि लक्षित वर्ग र क्षेत्रसम्म पुग्न नसकेको गुनासो गरेका छन् । उनीहरुले युवालाई उचित अवसर र स्वरोजगारीको बातावरण सिर्जना गरी उद्यमी बनाउन स्थानीय सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा नेपालमा युवाको अवस्था, भएका पहल, युवा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । छलफलका लागि श्रोत व्यक्तिहरु कपिलदेव सिंगक र गोपाल दाहालले छुट्टा–छुट्टै कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी युवाहरुले स्वदेशमा स्वरोजगार बन्न युवाहरुका लागि विना धितो ऋण र व्यवसाय सन्चालन तथा उद्यम विकास सम्बन्धी ज्ञानको खाँचो रहेको बताएका थिए ।
सहभागी कृषि क्षेत्रका उद्यमी युवाहरुले एउटा कृषि फर्म दर्ता गर्नका लागि नै महिनौँ लाग्ने भन्दै सरकारी कार्यालयमा पियन देखि हाकिमसम्मलाई हजुरी गरेरमात्रै काम हुने गरेको गुनासो गरेका थिए । कार्यक्रम जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।