पाँचथर, वैशाख २६ – पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि चर्च ब्वाइज क्लब काठमाडौंले जितेको छ ।
पृथ्वी माविको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा सुन्धारा स्पोर्टस क्लब काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईजले उपाधि उचालेको हो । उपाधि रक्षा गर्ने क्रममा खेलको १३ औँ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा खेलको २७ औँ मिनेटमा सुन्धाराका गिल्सन कन्दङवाले गोल फर्काउँदै बराबरी गरे । त्यसपछि ५६ औँ मिनेटमा भुवन वस्नेतले निर्णायक गोल गरेपछि चर्च ब्वाइजले उपाधि रक्षा गर्न सफल बन्यो । उपाधि रक्षा गरेको चर्च ब्वाइजले ट्रफीसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्दा दोस्रो भएको सुन्धाराले १ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सुन्धारा स्पोर्टिङका कर्ण लिम्बू बने । उनले नगद १५ हजार रुपैंयाँ प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकीपर चर्च ब्वाइजका सूर्य अधिकारी, उत्कृष्ट फरवार्ड भुवन बस्नेत र उत्कृष्ट कोच रुबिन राई बने ।
त्यस्तै, उत्कृष्ट डिफेन्डर सुन्धारा स्पोर्टिङका बिशाल गुरुङ, उत्कृष्ट मिडफिल्डर पुजन उपरकोटी, सर्वाधिक गोलकर्ता सुन्धाराका गिल्सन कन्दङवा बने । उनले प्रतियोगिताभर सात गोल गरे । त्यस्तै उदीयमान खेलाडी आयोजक रानीगुफा सेवा समाजका सुदर्शन चेम्जोङ बने । उनीहरुले जनही ८ हजार रुपैयाँ प्राप्त गरे ।