तेह्रथुम । फेदाप गाउँपालिका–३, जलजले स्थित ग्रामसुधार माविमा पुस्तकालय स्थापना भएको छ । जिल्ला शिक्षा कार्यालय तेह्रथुमको आर्थिक वर्ष ०७४÷०७५ को नियमित कार्यक्रम अन्तर्गत विद्यालयले पुस्तकालय स्थापना गरेको हो ।
कार्यालयको ६ लाख ५० हजार रुपैयाँ र विद्यालयको ३ हजार ९ सय ५८ रुपैयाँ गरी कुल ६ लाख ५३ हजार ९ सय ५८ रुपैयाँ लागतमा पुस्तकालय निर्माण तथा व्यवस्थापनको काम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद भटराईले बताउनुभयो । जसमध्ये पुस्तक खरिदका लागि ४ लाख ८७ हजार ४ सय ८८ रुपैयाँ र पुर्वाधार विकासका लागि १ लाख ६६ हजार ४ सय ७० रुपैयाँ खर्च गरिएको छ ।
विद्यालयमै पुस्तकालय निर्माण भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राहत मिलेको छ । पुस्तकालयमा बाल साहित्य, धर्म दर्शन र ग्रन्थहरु, बालमनोविज्ञान, सामान्य ज्ञान, उपन्यास, कथा नाटक एकाङ्की, स्वास्थ्य बातावरण, विज्ञान र प्रविधिसँग सम्बन्धित ११ सय बढी पुस्तकहरु राखिएका छन् ।
वि.स. २००८ सालमा स्थापना भएको विद्यालयमा ०६६ बाट कक्षा–९ र १० को पढाई सुरु गरिएको थियो । प्रस्तावित माविको रुपमा रहेको विद्यालयमा यसअघि पुस्तकालय व्यवस्थापन गरिएको थिएनँ । तर अब विद्यालयले विशेष कार्यक्रमका साथ पुस्तकालय व्यवस्थापन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गसिंह तुम्बाहाम्फेले बताउनुभयो ।
विद्यालयले पुस्तकालय व्यवस्थित गर्नका लागि एक व्यक्ति, एक पुस्तक दानको कार्यक्रम समेत सन्चालन गर्ने प्रधानाध्यापक भटराईले बताउनुभयो । कक्षा–१० सम्म पठन पाठन हुदै आएको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थी रहेका छन् ।