तेह्रथुम । खुला दिसामुक्त जिल्लाका शिक्षकहरु नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ ।

तर तपाईँ अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । तर यसमा शिक्षकहरुको रहर छैन । उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षकहरु शौच गर्न जंगल छिर्छन् ।

शौच गरिसकेपछि सरसफाई गर्ने पानी नहुँदा जिल्लाका गाउँ गाउँमा रहेका विद्यालयका शिक्षकहरु नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको बताउँछन् । तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका समेत धेरैवटा विद्यालयहरुमा शौचालय त छन्, तर शौचालयको सरसफाईमा प्रयोग हुने पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन् ।

त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थीहरु खुला रुपमा नै शौच गर्न बाध्य छन् । गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सन्चालनका लागि पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउनुभयो । यो विद्यालय नजिकै गाउँसमेत छैन । पिउने पानी समेत शिक्षकहरुले घरैबाट बोकेर लैजान्छन् । पानी अभावले विद्यालयमा गम्भीर समस्या निम्तिएको सो विद्यालयका एक शिक्षकले बताए ।

विद्यालयहरुमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नभएको शिक्षकहरुले गुनासो गरेका छन् । सुख्खा क्षेत्रका धेरै वटा विद्यालयहरुमा यस्तो समस्या रहेको छ । तेह्रथुम जिल्लालाई गतवर्ष नै खुला दिशामुक्त जिल्ला घोषणा गरिसकिएको छ ।

जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पी समेत बनिसकेको छ । तर अझैपनि सुख्खाग्रस्त गाउँका बासिन्दाले पानी अभावकै कारण चर्पी प्रयोग गर्न नपाएको दुखेसो पोखेका छन् ।

तपाईको प्रतिक्रिया